Sajhamanch Archive

‘बिर्तामोडका समस्या के के हुन्’ सरोकारावालाबाट सुन्दै नगरपालिका

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका सरोकारवाला कार्यालय तथा संघ–संस्थाका प्रमुखहरुसँग आज शुक्रबार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडका समस्या के के हुन् र समाधानका लागि के कस्ता उपाय हुन सक्छन् भनी छलफल गरेका हुन् ।

उक्त अन्तरसंवादमा नेपाल टेलिकम बिर्तामोड शाखाका प्रमुख सुमित थापाले टेलिकमका अप्टिकल फाइबर तार चोरी हुनेक्रम बढ्दै गएको अवगत गराए । पछिल्लो एक महिनामा ७ स्थानबाट टेलिकमको तार चोरी भएकाले सेवा अवरुद्व हुनुका साथै ठूलो नोक्सानी भएको जानकारी गराए ।

यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत तथा टेलिकमका पोलमा आफू खुशी राखेका तारहरु हटाउनु पर्नेमा जोड दिए ।

यस्तै नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सुधिरकुमार रायले सडक बिस्तार तथा निर्माण गर्दा त्यसभित्र परेका विद्युतका पोलहरु सार्नुपर्ने र त्यसका लागि पूर्व जानकारी नहुँदा बजेट अभावका कारण समस्या भएको जिकिर गरे । विद्युत पोल स्थानान्तरण गर्दा प्रक्रिया लामो तथा झञ्जटिलो हुने भएकोले त्यसको प्रकृयालाई छोटो बनाउनु पर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवरले बिर्तामोडमा ९६ वटा सिसी क्यामेरा जडान भए पनि गुणस्तरीय कुनै पनि नरहेको जनाए । बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेको भन्दै उनले मुख्य सडकको प्रवेशद्वारमा समेत सिसी क्यामेर अनिवार्य जडान गर्नुपर्ने बताए ।

सम्भव भएसम्म नाइटभिजन क्यामेरा जडान गर्नुपर्नेमा जोड दिँदै डिएसपी कुँवरले सिमित जनशक्ति र सवारी साधन बावजुद पनि प्रहरीले काम गरिरहेको र बिर्तामोडमा लागुऔषधका घटनामा समेत वृद्धि हुँदै गएकाले यसको न्यूनीकरणको लागि विभिन्न कार्यक्रमहरु ल्याउनु पर्ने सुझाब दिए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख अशोककुमार जवेगुले बिर्तामोडमा पार्किङको अभाव रहेकोले यसको व्यवस्थापन गर्नुपर्ने बताए । उनले सडकमा जडान गरिएका सिसी क्यामेरा कमसल भएकै कारण दूर्घटना गराउने व्यक्तिको पहिचान गर्न गाह्रो भएको बताए ।

प्रमुख जवेगुले सडक बत्ती मर्मत तथा जडान गर्नुपर्ने, दूर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम ल्याउनु पर्ने, फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने जस्ता समस्याका बारेमा अवगत गराए ।

यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव यामकुमार चुँडाल, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ, प्याब्सन, एन–प्याब्सन, मेची यातायात व्यवस्था कार्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

छलफलमा सहभागीहरुलाई धन्यवाद दिँदै नगरप्रमुख प्रसाईले समस्या समाधानका लागि नगरपालिका गम्भिर रहेको बताइन् । उनले सरोकारवालाहरुको उपयुक्त सल्लाह सुझावका आधारमा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिने अवगत गराइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *