५ देखि ११ वर्षकालाई असार ९ देखि कोरोना खोप लगाइने, झापासहित पहिलो चरणमा २७ जिल्ला
Published:
by .काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिड विरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ । ‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडि नै खोप उपलब्ध गराइदिनुहोस् भनेका छौं । खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भनेका छन् ।
फाइजर पेडियाट्रिक खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । उनका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोना विरुद्धको खोप सञ्चालन गरिनेछ ।
पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।
महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकेर कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०।२ एमएलका दरले दुई डोज लगाउनुपर्छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा। रुद्रप्रसाद मरासिनीले नेपालले खोपमा राम्रो प्रगति गरेपछि कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज खोप निःशुल्क पाउने सुनिश्चित भएको बताए ।
यो खोप निःशुल्क पाउने नेपाल पहिलो देश हो । यसअघि सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन साढे ६ अर्ब बजेट विनियोजन गरेको थियो । डा। मरासिनीका अनुसार पहिलो चरणमा खोप आएपछि त्रमश १० देखि १५ लाखको पटक–पठक गरी खोप ल्याइने छ ।
पहिलो चरणको खो लगाउन पाउने जिल्लाहरुमा प्रदेश १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप पाउनेछन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।
अनलाइनखबर
Comments