Sajhamanch Archive

एकाबिहानै दुखद् खबरः कर्णाली साकोसका उपाध्यक्षको सवारी दुर्घटनामा मृत्यु (दुर्घटनामा परेको गाडीको तस्वीरसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र कर्मचारी सवार स्कारर्पियो इलामको हर्कटेमा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।

संस्थाका जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईका अनुसार इलामको फिक्कलमा सेवाकेन्द्र विस्तार गर्ने सिलशिलामा आज शनिबार स्थानीय बासिन्दाहरुसँग छलफल गर्ने तयारीका साथ कर्णालीको नेतृत्व शुक्रबार साँझ त्यसतर्फ गएको हो ।

संस्था सञ्चालक समितिका सदस्य गणेश पराजुलीको निजी स्कारर्पियोमा उनी स्वयम् चालक थिए । सवारीमा अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, कर्मचारीहरु लेखा शाखाका प्रमुख डिल्ली बस्नेत र कर्जातर्फका सन्तोष श्रेष्ठ थिए ।

साकोसका पदाधिकारी र कर्मचारीहरु चढेको प्रदेश १–०१–००१६–९१९३ नम्बरको स्कोरपियो साँझ ७ः३० बजेतिर सूर्योदय नगरपालिका ७ स्थित सुकेपोखरी नजिकै बाटोभन्दा सय मिटर तल झरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक रुगमबहादुर कुँवरले स्कारपियोमा सवारमध्ये एकजनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा संस्थाका उपाध्यक्ष बिर्तामोड ३ का इश्वरीप्रसाद खरेलको मृत्यु भएको हो भने चालक गणेश पराजुली बाहेक अरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको गाडीको अवस्था

‘घाइतेहरु सबै बोल्न र कुराकानी गर्न सक्ने अवस्थामा नै हुनुहुन्छ’ संस्था सञ्चालक समितिका सदस्य गुञ्जन थापाले साझामञ्चसँग भने, ‘तर कसैको टाउको चोट छ, कसैको हात खुट्टा भाँचिएको छ ।’ ‘मैले सबै सहकर्मीहरुसँग अस्पताल गएर भेटें, चालक गणेश पराजुलीको अवस्था पनि सामान्य रहेको बताइए पनि उनलाई अस्पताल परिसरमा भेटिएन’ थापाले जानकारी दिए ।

थापाका अनुसार अध्यक्ष प्रधानको देब्रे खुट्टा भाँचिएको छ । कोषाध्यक्ष विष्टको कम्मरमुनिको भागमा चोट छ । लेखा प्रमुख बस्नेतको टाउकोमा चोट छ भने कम्मरको हड्डी सरेको बताइएको छ । सन्तोष श्रेष्ठको हात भाँचिएको छ ।

दुर्घटनामा परेको गाडीको अवस्था

घटनाका बारेमा घाइतेहरुबाट पाएको जानकारी साझामञ्चलाई सुनाउँदै संस्थाका सञ्चालक सदस्य थापाले भने, ‘गाडी बिस्तारै कुदाइएको थियो, साँझको समय अनि कुहिरोले अगाडि ढाकेको अवस्थामा घुमाउरो बाटोको कुइनेटोबाट अगाडिको एउटा चक्काले बाटो छोड्दा गाडी अनियन्त्रित भएको रहेछ ।’

दुर्घटनामा मृत्यु भएका उपाध्यक्ष खरेल चालक पछाडिको सिटमा अरुहरुको बीचमा बसेका थिए । तर गाडी अनियन्त्रित हुँदा उनी झ्यालबाट उछिट्टिएको प्रारम्भिक अनुमान गरिएको छ ।

मृतक खरेलको शव अहिले बिएण्डसी अस्पतालमा छ भने घाइतेहरु सबैको त्यहीँ उपचार भइरहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *