लामखुट्टेको लार्भा नष्ट गर्दै बिर्तामोड नगरपालिका
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोड नगरपालिका क्षेत्रमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ ।
डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टे बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १ को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सिपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिएकी छन् । लापरवाही ढंगले काम गर्दा आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्ने भन्दै उनले सिपलाई इमान्दारिताका साथ पालना गर्नुपर्ने निर्देश नगरिन् ।
वडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुलाई निर्देशनअनुसार काम गर्न सुझाव दिए । विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने पनि वडाध्यक्ष पाण्डेले बताए । सो अभियान असार १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिएका छन् ।
वडा नम्बर १ मा ४ र ५ गते, वडा नम्बर ५ मा ६ र ७ गते, वडा नम्बर ३ मा ८ र ९ गते र वडा नम्बर ४ मा १० र १५ गते विषादी छर्किने तालिका बनाइएको छ । स्वास्थ्य शाखाका अनुसार वडा नम्बर २ मा १२ गते, वडा नम्बर ६ मा १३ गते, वडा नम्बर ७ मा १४ गते र वडा नम्बर ८ मा १५ गते विषादी छर्किइनेछ भने वडा नम्बर ९ मा १६ गते र वडा नम्बर १० मा १७ गते विषादी छर्किने तालिका रहेको जनाइएको छ ।
एकपटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारीरुपमा काम गर्ने जनाइएको छ । अभियान उद्घाटन कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट, विभिन्न वडाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।
Comments