सार्वजनिक सम्पत्ती तोडफोड गर्ने व्यवसायी न्यौपानेलाई कारबाही गर्न एमाले विर्तामोडको माग
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगरप्रमुखको कार्यकक्षमा आज असार ६ गते बिहान बिर्तामोड उद्योग वाणिज्य संघको नामबाट सिमित मानिसहरुको अगुवाईमा भएको हुल हुज्जत एवम् सार्वजनिक सम्पत्ती तोडफोडप्रति नेकपा एमाले बिर्तामोड नगरकमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई र सचिव शेखर कडेलको संयुक्त हस्ताक्षरमा अहिले साँझ जारी भएको प्रेस विज्ञप्तीमा उक्त घटनाप्रति पार्टीको गम्भिर आपत्तीसहित घोर भत्सर्ना गरिएको उल्लेख छ ।
बिर्तामोड नगरपालिका वडा नं. ५ मा रहेको बुधबारे हटियाको जग्गामा ब्यापार गरेर बस्ने व्यवसायीका नाममा विद्युत् मिटर जडान गर्न नगरपालिकाबाट सिफारिस दिनुपर्ने माग राख्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको अगुवाइमा केही दिनदेखि नगरपालिकाको प्राङ्गणमा नाराबाजी चलिरहेको थियो ।
सोही विषयमा आज बिहान नगरपालिकाको आयोजनामा भइरहेको सर्वदलीय बैठकमा मागकर्ताहरु समेतको राय लिइसकेपछि नगरप्रमुख पवित्रा महतारा प्रसाईले आफ्ना धारणा राख्दै गर्दा वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बोल्न रोक्दै दूव्र्यवहार गरेका थिए । उक्त घटनाप्रति असहमति जाहेर गर्दै नगरप्रमुखलाई धारणा राख्न दिइनुपर्छ भन्दा पार्टीका नगर अध्यक्ष सुवास भट्टराईमाथि न्यौपानेले हातपातको प्रयास गरेको विज्ञप्तीमा जनाइएको छ ।
निजले नगरपालिका परिसरभित्र रहेको सार्वजनिक सम्पत्तीसमेत तोडफोड गरेर आपराधिकतातर्फ उद्यत भएको तथा महिला भएकै आधारमा नगरप्रमुख माथि ज्यादति र मानमर्दन गर्न खोजेको एमाले नगर कमिटीको ठहर रहेको प्रष्ट्याउँदै निजलाई कानुनी कारवाही गर्न प्रहरी प्रशासनसँग माग पनि गरेको छ । निजको अगुवाईमा भइरहेको व्यवसायीहरुको नगरपालिका घेराउ र नाराबाजीले दाताबाट प्रदत्त जमिनको उपयोग होइन, उक्त जगा हडप्ने कुत्सित मनसाय रहेको देखिन्छ ।
विज्ञप्तीमा भनिएको छ ‘जग्गादाता रामबाबु प्रसाईको सदिच्छा अनुसार आफ्ना बुबा देवीप्रसाद प्रसाईको नाममा अनारमनी गाविसलाई हाटबजार गर्न सहज होस् भनी दान दिएको जग्गा हडप्ने वाणिज्य संघको नाममा केही अगुवाहरुको कर्तुतप्रति कानुनी कारबाहीका लागि बिर्तामोड नगरपालिका कार्यालय, प्रहरी प्रशासन समक्ष नगर कमिटीले विज्ञप्तीमार्फत् माग गरेको छ ।
सो पार्टीले उक्त जमिनमा व्यवस्थित भवन निर्माण गरी त्यहाँ हाल व्यवसाय गरिरहेका व्यापारीहरुलाई प्राथमिकता दिने पक्षमा नेकपा एमाले प्रष्ट रहेको पनि जनाएको छ । तर ब्यवसाय गर्ने नाममा जमिन अतिक्रमण गरी बसेका व्यवसायीका पक्षमा नेकपा एमाले नरहेको र नरहने कुरा पनि विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा बिर्तामोड उद्योग वाणिज्य संघको नामबाट केही व्यक्तिको अनाधिकृत अगुवाईबाट भइरहेको क्षतिप्रति स्वयम् जिम्मेवार हुनुपर्ने कुरा पनि स्पष्ट पारिएको उल्लेख छ ।
यसैबीच नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले छुट्टै विज्ञप्ती प्रकाशन गरी बिर्तामोड उद्योग वाणिज्य संघको नाममा भोलि असार ७ गते बजार बन्द गर्न अनाधिकृत रुपमा गरिएको माइकिङ प्रति घोर आपत्ति रहेको जनाएको छ ।
महासंघका अध्यक्ष बिवेक निरौलाले विज्ञप्ती जारी गर्दै बजार बन्दको दबावलाई सम्पूर्ण सचेत उद्योगी ब्यवसायीहरुले प्रतिकार गर्दै नियमितरुपमा आफ्नो ब्यापार ब्यवसाय नियमित रुपमा संचालन गर्न आग्रह गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको आधिकारिक बैठक नै नबसी अनाधिकृत रुपमा भएका ब्यवसायीमारा बन्द हड्ताल अस्वीकार गर्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले यस्ता अराजक प्रवृत्ति नदोहोर्याउन समेत सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।
Comments