साना मझौला साकोसको स्थापना दिवस सन्दर्भमा साताब्यापी विशेष कार्यक्रम गरिँदै
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले आज एक दिवसीय सदस्य शिक्षा अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सञ्चालित सदस्य शिक्षा कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष रामलोचन न्यौपानेले शब्दद्वारा स्वागत गरेका थिए ।
बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक शाखा अधिकृत डिल्ली दाहालले अति सरल भाषामा सहकारीको परिभाषा, अर्थ, सहकारीको सिद्धान्त र सहकारी भनेको के हो ? सहकारीको कारोबारको बारेमा र सहकारीको गतिविधिको बारेमा शेयर सदस्यलाई सहजीकरण गरेका थिए ।
तालिम लिन आएका शेयर सदस्यहरुले सदस्य शिक्षा अभिमुखीकरण तालिम फलदायी रहेको सुनाउँदै यस्ता तालिमले सहकारी नबुझेका सदस्यलाई सहकारीको बारेमा जानकारी हुने बताए ।
संस्थाका सचिव तथा कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले संस्थाको १२औं स्थापना दिवसको अवसर पारेर सदस्य शिक्षा अभिमुखीकरण तालिम आयोजना गरिएको बताएका छन् ।
संस्था स्थापना दिवसको सन्दर्भ पारेर आगामी १३ गते सुरुङ्गामा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य सचेतना कार्यक्रम र १४ गते साङ्गवेद संस्कृत मावि चारपानेका गुरु र विद्यार्थीहरुलाई तीन छाक खाना बराबरको १५ हजार ३०० रुपैयाँ प्रदान गरिने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।
यस्तै सोही दिन परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई एक छाक खाना खुवाइने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।
Comments