Sajhamanch Archive

रोटरी क्लबको अगुवाईमा धुलाबारीको आम्दा अस्पतालमा निर्मित अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर १० धुलाबारीस्थित आम्दा मेची अस्पताल परिसरमा जडान भएको अक्सिजन प्लान्ट शनिबार सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीसहितको टोलीले मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई प्लान्ट हस्तान्तरण गरेका हुन् । नगरप्रमुख–उपप्रमुखले पनि तत्कालै आम्दा मेची अस्पतालका प्रमुख डा पोषणरमण त्रिपाठीलाई साँचो हस्तान्तरण गरे ।

झापाका अस्पतालहरुमा अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा टेवा पुर्याउने उद्देश्यले नगरपालिका, वाणिज्य संघ तथा सामाजिक संस्थाहरु यसको स्थापनामा जुटेका थिए । रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको अगुवाई तथा रोटरी क्लब अफ मेचीनगरको सहजीकरणमा आम्दा मेची अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनाको गरिएको हो ।

मेचीनगर नगरपालिकाको तर्फबाट २५ लाख र मेची उद्योग वाणिज्य संघले १५ लाख, रोटरी क्लब अफ काँकरभिट्टा, बिर्तामोड, मेचीनगर, दमक, बिर्तामोड मिडटाउन, सुरुङ्गा, भद्रपुर तथा रोटरी फाउण्डेशनबाट प्राप्त ३१ लाख १६ हजार २०० सय रुपैयाँ गरी कूल ७१ लाख १६ हजार २०० रुपैयाँको लागतमा प्लान्ट निर्माण गरिएको हो । रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२२/२०२३ का अध्यक्ष एवम् आयोजनाका फोकल पर्सन सुजन प्रधानले लागत संकलनको विवरण दिएका हुन् ।

रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै औचित्य माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए । आम्दा मेची अस्पतालले २०६५ देखि सेवा शुरु गरेको हो । स्थानीय नरेन्द्र र पद्मा खनालको परिवारले दुई विगाहा पाँच कठ्ठा जमिन आम्दा नेपाललाई दान गरेपछि जाईकाले ९८ लाख तथा मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँ खर्चेर २०६१ सालमा अस्पताल निर्माण कार्य शुरु गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *