Sajhamanch Archive

भारतबाट आउने जंगली हात्ती छेक्न मेची नदीमा तटबन्धन गर्ने योजना

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगरमा हात्तीको दीर्घकालिन समस्याको समाधानका लागि झापाबाट निर्वाचित संघीय तथा प्रदेश सांसदहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलाई सहभागी गराउँदै मेचीनगरका जनप्रतिनिधिहरुले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गराएका छन् ।

हिजो शनिबार प्रतिनिधिसभाका सदस्य राम कार्की, प्रदेशसभा सदस्यहरु श्रीप्रसाद मैनाली र राधा थापा, प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारी लगायतको टोलीले भारतबाट हात्ती छिर्ने मुख्य सीमा नाका मेचीनगर–४ स्थित भन्सार गौंडाको मलामी टोलमा निरीक्षण गरेका हुन् ।

विगतमा हात्ती छेक्न लगाएको सोलार फेन्सिङ (विद्युतीय तारबार) भत्किएको छ । काम नै नलाग्ने अवस्थामा पुगेपछि दिनहुँ हात्तीहरु हुलका हुल नेपाल छिरिरहेका छन् । स्थानीयको धानबालीमा क्षति पुगेको छ भने घर भत्काउने, मानिसलाई घाइते बनाउने र मार्नेसम्मको घटना भइरहेको छ । यसमा तीनवटै सरकारले ध्यान दिएको अवस्था छैन । हात्तीबाट धानबालीकोे क्षति हुँदा सरकारले सामान्य राहत बाहेक अरु केही दिने गरेको छैन ।

‘मेचीनगरका जनता वर्षौदेखि हात्तीबाट पीडित छन्’, नगरप्रमुख बुढाथोकीले भने ‘उनीहरुले भोग्दै आएका समस्याहरुको दीर्घकालिन समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार लाग्न आवश्यक छ ।’ यही प्रयोजनका लागि निरीक्षक गरिएको हो ।

निवर्तमान नगरप्रमुख आचार्यको पालामा भन्सार गौंडामा हात्ती छेक्न केही ठाउँमा तटबन्धन गरिएको थियो र पनि त्यसको दायाँ बायाँबाट हात्तीहरु छिरिरहेका छन् । ‘हात्ती छेक्न तत्काल विद्युतीय तारबारलाई मर्मत गर्नुको विकल्प छैन’ नगरप्रमुख बुढाथोकीले भने ‘यसका लागि कार्यपालिकाको बोर्ड बैठकले निर्णय गरिसकेका छ । अब सीमा क्षेत्रमा चाँडै विद्युतीय तारबार मर्मत गरिनेछ ।’

उनले मेचीनगर–६ को बर्मेली टोलदेखि इलाम सलकपुर छेउ तिरिङसम्मको करिव २५ किलोमिटर नेपाल पटिको क्षेत्रमा तटबन्धन (बाँध) निर्माण गर्न जरुरी रहेको बताए । त्यसका लागि करिव १ अर्ब बजेट आवश्यक पर्ने उनको बुझाई छ ।

तटबन्धन गर्न सके भारतबाट हात्ती पनि नआउने, नदी नियन्त्रण र सिद्दीखोलाको नहरलाई त्यहाँ जोड्न सकिने बुढाथोकीले बताए ।

उनका अनुसार झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको संयोजनमा हात्तीको समस्याका विषयमा बृहत छलफल गरी अवधारणा बनाएर केन्द्रको ध्यानाकर्षण गराउने योजना रहेको छ ।

मेचीनगर ४ का वडाध्यक्ष कार्कीले शनिबार साँझ समय अभावका कारण भन्सार गौंडामा मात्र सांसदको टोलीलाई भारतबाट हात्ती आउने ठाउँ र यहाँका समस्याका बारेमा जानकारी गराएका थिए । वडाध्यक्ष कार्कीले स्थानीय २० जनालाई हात्ती धपाउन टर्चलाईट पनि वितरण गरेका थिए ।

त्यस्तै मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, स्थानीय शंकर लुईटेल लगायतले पनि हात्तीबाट भएको मानवीय तथा बालीनालीको क्षति, समस्या र समाधानका विषयमा टोलीलाई अवगत गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *