‘लागु पदार्थको धन्दालाई निरुत्साहित पार्नु प्रदेश सरकारको कर्तब्य’ : मन्त्री कार्कीे
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले लागु औषध दुरुपयोगलाई रोक्नका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आज आइतबार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको सन्दर्भमा विराटनगरमा आयोजित प्रभातफेरी कार्यक्रममा मन्त्री कार्कीले लागु पदार्थको अवैध कारोबार तथा धन्दालाई निरुत्साहित पार्न प्रदेश सरकार लागिरहेको बताएका हुन् ।
‘प्रदेश सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लागि परिरहेको छ, सबैसँगको समन्वयमा यो सम्भव पनि छ । उनले भने, आन्तरिक मामिला मन्त्रालयले पुनःस्थापना केन्द्रहरू, जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयहरू सँग समन्वय गरिरहेको छ ।’
खासगरी किशोर किशोरी समूहमा विद्यार्थी लागु औषधको अवैध प्रयोगकर्ता बढिरहेको बताउँदै मन्त्री कार्कीले त्यसलाई रोक्नका लागि विद्यार्थीले नै भूमिका खेल्नुपर्ने बताए । ‘एउटा विद्यार्थी घर परिवारभन्दा बढी साथीसँग नजिक हुन्छ भने उ कुलतमा फस्न लाग्दा साथीले नै रोक्न सक्छ, मन्त्री कार्कीले भने, त्यसका लागि मन्त्रालयले चाँडै कल सेन्टरको स्थापना गर्छ, प्रहरीका इकाइहरू छन् त्यहाँ पनि खबर गर्न सक्नु हुनेछ ।’
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तीनै तहका सरकार लागु पदार्थ दुरुपयोगलाई निरुत्साहन गर्न लाग्नुपर्ने बताउँदै प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।
नवज्योति पुनःस्थापना केन्द्रका अध्यक्ष सुशील रिजालले पुनःस्थापना केन्द्रमा काम गर्नेहरू दिनरात नभनी काम गर्दै आएको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, कोसी अस्पतालका प्रमुख डा. यज्ञराज खरेल, सुरक्षा निकायका प्रतिनिधि, पुनःस्थापना केन्द्रका प्रतिनिधि, विभिन्न क्याम्पसका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय लागू पदार्थ दिवसको सन्दर्भमा नै आज बिर्तामोडको मनकामना कलेजमा पनि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । मनकामना मावि र कलेजमा अध्ययनरत सयौं विद्यार्थीहरुलाई लागुऔषध के हो ? कसरी कसलतमा फसिन्छ ? कोबाट कसरी बच्ने ? जस्ता अत्यन्त आधारभूत विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरिएको हो ।
मानविकी संकाय अन्तर्गत बिएसडब्लु विभागको आयोजनामा सञ्चालित सचेतनामुलक कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक होमराज दाहालले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा आयुषा लिम्बू लगायतका विद्यार्थीहरुले पनि लागुऔषधको प्रयोग गरिरहेका बालबालिकालाई कस्तो अवस्थामा भेटेका छन् वा देखेका छन् भन्ने अनुभूति सुनाएका थिए ।
यस्तै, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागुऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नुपर्ने बताएका छन् ।
मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा आज भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नगरप्रमुख बुढाथोकीले यस्तो धारणा राखेका हुन् । उनले लागूऔषधमा फसेकाहरुलाई सुधार्ने निकाय भनेको नै पहिलो घर भएको बताए ।
‘समाधानको उपायका बारेमा बहस गर्न जरुरी छ’, नगरप्रमुख बुढाथोकीले भने ‘अभिभावकले छोराछोरीको निगरानी गर्नुपर्छ । के खायो, के गर्दैछ, स्कुल गयो गएन लगायत कुरामा ध्यान दिन आवश्यक छ ।’
अहिले सञ्चालन भएका सुधार केन्द्रभन्दा अलिक उच्चस्तरीय केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउँदै बुढाथोकीले समुदाय, प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले लागुऔषधको दुव्र्यसन रोक्ने मात्र होइन यसलाई निमिट्यान्न पार्न जरुरी रहेको बताइन् । ‘मेचीनगर दुव्र्यसनीको हव बन्दै गएकोले पूर्वाधार विकासमा मात्र होइन मानव संशाधानमा समेत जोड दिनुपर्छ’ उपप्रमुख उप्रेतीको भनाई छ ।
केन्द्रका अध्यक्ष बुद्घिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थितहरुलाई मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सीमा प्रहरी चौकी नकलबन्दाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक मानबहादुर मिश्रले गरेका थिए ।
Comments