Sajhamanch Archive

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’मा के छ ?

Published: in विश्व समाचार, शिक्षा, समाज, साहित्य by .

काठमाडौं । नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’को आइतबार लोकार्पण गरिएको छ । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो ।

जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसका उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्तकको लोकार्पण गरिदिएका हुन् ।

सो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको थियो भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गरेका हुन् । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुन् ।

सो पुस्तकमा आफ्नो देश, आफ्नो गाउँ, समाज र सम्पूर्ण श्रीसम्पत्ती छोडेर अन्धकार भविष्यको पछि लाग्नुको पीडालाई स्रष्टा प्रधानले कृतिमा समावेश गरेका छन् । शरणार्थी शिविरका दुःख, दैनिकी र अमेरिकामा गरेको संघर्षलाई कलात्मक ढंगबाट स्रष्टा प्रधानले पाठकमाझ पस्किएका छन् ।

पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गरेका छन् ।

स्रष्टा प्रधानले आफ्नो पुस्तक शरणर्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामाग्रीको रुपमा सुरक्षित हुने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपाली पन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भएपनि आमाको विशेष चाहना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुबाद गरी पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *