Sajhamanch Archive

झापामा बाढीको वितण्डा सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

चाँजु खोलाले सुँगुरको खोर बगायो, बनियानीले गौरीगञ्ज १ बस्तीहरु डुबानमा

दमक । गएराति देखिको भारी वर्षाका कारण झापाको कमल गाउँपालिका ५ स्थित चाँजु खोलामा आएको बाढीले सुँगुरका दुईवटा खोर बगाएको छ भने करिब आधा दर्जन घर कटानको उच्च जोखिममा परेका छन् ।

स्थानीय सुँगुरपालक दुईजना किसानहरु घनश्याम धिमाल र धनमाया तामाङले बनाएका दुईवटा खोर बगाएको कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टले जानकारी दिएका हुन् ।

‘रातिदेखिको पानीले यहाँको अवस्था निक्कै जटिल बनाएको छ, ६/७ घरको नजिकै खोलाको कटानले विस्थापित हुने खतरा बढेको छ’ वडाध्यक्ष विष्टले भनेका छन् ।

आज बिहान करिब ५ बजे खोलामा आएको बाढीसँगैको कटानका कारण कमल गाउँपालिकाका विभिन्न बस्तीहरु डुबान र कटानको जोखिममा परेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष प्रमिला न्यौपानेसहित वडाका जनप्रतिनिधिहरुको टोली पुगेको छ । प्राविधिकहरुसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परि आउनसक्ने विपद व्यवस्थापनको पूर्व तयारीका विषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

त्यसैगरी स्थानीय बनियानी खोलामा आएको बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ बस्तीहरु डुबानमा परेका छन् । निर्माणाधिन हुलाकी राजमार्ग आसपासका बस्तीहरु बढी डुबानमा परेका हुन् ।

हुलाकी मार्गमा पूल तथा कल्भर्टहरु निर्माण गर्दा पानीको पर्याप्त निकास हुने व्यवस्था नमिलाइएका कारण सो खोलाको आसपास चौरी, धनगाढा लगायतका बस्तीहरु डुबानमा परेका स्थानीयहरुको भनाई छ ।

स्थानीयबासीहरुका अनुसार त्यहाँस्थित बनियानी र कमल खोलामा करिब ३० वर्ष यताकै ठूलो बाढी आएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *