झापामा धान दिवस : कतै सामुहिक रोपाईं, कतै हिले दौड
Published:
by .झापा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि कृषिमा पनि जोड दिनुपर्ने बताएका छन् ।
आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि कृषि क्रान्ति गर्न जरुरी रहेको बताए ।
धान दिवस कार्यक्रममा एमाले नेताहरु कोइराला, केन्द्रीय सल्लाहकार परिसद् सदस्य विष्णु प्रसाई, प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले नगर कमिटी अध्यक्ष राजु पोखरेल, १३ नम्बर वडाध्यक्ष कृष्णराज सिग्देल लगायतले धान रोपेर मनाएका छन् ।
अखिल नेपाल किसान महासंघ मेचीनगर अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता र महासंघका जिल्ला सदस्य ताकेन्द्र तामाङले सञ्चालन गरेका थिए ।
कृषिमा यान्त्रिकीकरण आजको आवश्यकताः मन्त्री दर्लामी
यसैबीच, प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामीले परम्परागत खेती प्रणालीलाई यान्त्रीकरण गर्न सकेमात्र कृषकको आम्दानीमा वृद्धि हुने बताएका छन् ।
कमल गाउँपालिकाको आयोजना तथा लखनपुर साना किसान कृषि सहकारी संस्था र मूल कृषक समूहको व्यवस्थापनमा कमल गाउँपालिका वडा नम्वर ७ मा लालधन्द्रामा सम्पन्न १९औं राष्ट्रिय धान दिवसमा मन्तब्यका क्रममा मन्त्री दर्नालले यस्तो बताएका हुन् ।
‘नेपालमा दुई तिहाई जनता कृषि पेशामा आवद्ध भए पनि वर्षेनी धान चामल लगायतका खाद्यान्न आयत गरिरहेका छौं । हिजो बुबाले गरेको निर्वाहमुखी खेती नै आजको पुस्ताले पनि पछ्याई रहेको कारण कृषक धनी हुन नसकेका हुन्’ मन्त्री दर्लामीको भनाई छ ।
कृषकको प्रगति र उन्नति नभएसम्म गाउँपालिकाको विकास सम्भव छैन भन्दै गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यसैकारण नयाँ प्रविधि भित्राएको बताए ।
नयाँ प्रविधि मार्फत धान रोप्दा लागत घट्ने र उत्पादनमा समेत वृद्धि हुने भएकोले नयाँ प्रविधिबाट धान रोपेको अध्यक्ष राईले बताए ।
निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिकीकरण गर्नतर्फ गाउँपालिका लागिपरेको जनाउँदै गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले कृषकलाई व्यासायिक बनाउँदै रसायनिक विषदीको प्रयोगलाई घटाउँदै आग्र्यानिक उत्पादनतर्फ कमल गाउँपालिका लागेको बताइन् ।
यसैबीच, राष्ट्रिय धान दिवसको अवसरमा भद्रपुर नगरपालिका कृषि शाखाको संयोजनमा भद्रपुर २ स्थित कमलधाप क्षेत्रमा रोपाईं गरिएको छ ।
मार्गदर्शक महिला कृषि सहकारीको आयोजनामा भएको धान दिवसमा नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, वडा सदस्य द्रोणप्रसाद कोइराला लगायत जनप्रतिनिधिहरूले धान रोप्दै मनाएका हुन् । सो अवसरमा हिले दौडसमेत सम्पन्न गरिएको थियो ।
Comments