चतरामा विपद पूर्वअभ्यास, मन्त्री कार्की भन्छन्ः विपत देख्नेहरु उद्धारमा लाग्न छाडेर सामाजिक सञ्जालमा गाली गर्न थाल्छन्
Published:
by .सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद हुनपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् । बिहीबार सुनसरीको चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् ।
मन्त्री कार्कीले विपद्का बेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले स्रोत साधनसहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन हुनुपर्ने आवश्यकता बोध गराए ।
‘पहिले पहिले पनि बाढी आउँथ्यो, आगलागी हुन्थ्यो तर समाजकै जनशक्ति सबैले मिलेर त्यसको नियन्त्रणमा ल्याइन्थ्यो’ मन्त्री कार्कीले थपे, ‘अहिले कहीँ विपद पर्यो भने देख्ने मान्छेले मोबाइल निकाल्छ फोटो भिडियो खिच्छ, फेसबुकमा हाल्छ अनि सुरक्षाकर्मी खोई, नेता खोइ भन्दै प्रश्न गर्न थाल्छ ।’ समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उनको जोड छ ।
सो कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । विपतलाई रोक्नका लागि विपत हुनुभन्दा अगाडि हुने विकास निर्माणका काम गर्दा समेत भू–बनोट अनुसार काम गर्नुपर्नेमा प्रजिअ यादवले जोड दिए ।
हेर्दा र देख्दा यथार्थ घटनाजस्तै लाग्ने पूर्व अभ्यास आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजना गरेको हो । अभ्यासमा विपदका बेला हुने घटनालाई अभ्यासमार्फत चित्रण गर्दै उद्धारको काम गरिएको थियो ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीसहित तीन वटै सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।
Comments