Sajhamanch Archive

मुख्यमन्त्री हेरफेर प्रसंगः एकीकृत समाजवादीमा अर्को पहिरो जाँदै

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संघीय सरकारमा हालैमात्र मन्त्रीहरु हेरफेर गर्न फलामको चिउरा चपाएको नेकपा एकीकृत समाजवादीका अघिल्तिर प्रदेशका मुख्यमन्त्री हेरफेर अर्को सकस आइलागेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएको घटनाले सो पार्टीमा फेरि अर्को पहिरो जाने संकेत देखिएको हो । एकीकृत समाजवादीले भने मुख्यमन्त्री हेरफेरको विषय शीर्ष तहकै छलफलबाट टुंग्याउनुपर्ने बताउन थालेको छ ।

आज शनिबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको बैठकले मुख्यमन्त्री हेरफेरको विषय सत्तारुढ दलको शीर्ष तहमै छलफल गरेर टुंग्याउनुपर्ने निश्कर्ष पनि निकालेको छ ।

राजधानी काठमाडौंबाट प्रकाशन प्रसराण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबै प्रदेशमा समान ढंगले अवसरहरुको बाँडफाड गर्ने गरी शीर्ष तहले नै टुंग्याउनुपर्ने बताएका हुन् । सबै प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय चलिरहेको छ । चक्रीय प्रणालीमा जिम्मेवारी परिवर्तन हुने गठबन्धन दलबीचको अलिखित सहमति हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै खतिवडाले भने, ‘गठबन्धनका दलभित्र बसेर सबैतिर एकैपटक सेटल गर्ने गरी उपयुक्त अवसरहरुको बाँडफाँड गर्ने गरियो भने सबैभन्दा परिपक्व हुन्छ, प्रत्येक सांसदहरुले तनाव लिनु पर्दैन । अथवा म फलानोलाई हटाउन लागिरहेको छु बनाउन लागिरहेको छु भन्ने तनावबाट सांसदहरु मुक्त हुन्छन्, पार्टीभित्र दबाव कम हुन्छ ।’

७ प्रदेशमध्ये हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २–२ जना र जनता समाजवादी पार्टीका एक जना मुख्यमन्त्री छन् । एकीकृत समाजवादीले पनि बागमती प्रदेशको मुख्यमन्त्ती छाड्नुपर्ने अवस्थामा आफूहरुले पाइरहेको दुईवटा मुख्यमन्त्री पद घट्न नहुने अडान राखेको छ । ‘कहिँ न कहिँ अवसरहरुको बाँडफाँड हुन्छ नि, बागमती नभए अर्को ठाउँमा होला’ प्रचार विभाग प्रमुख खतिवडाले भने ।

एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले शनिबारको संसदीय दलको बैठकले मुख्यमन्त्री परिवर्तनको विषय शीर्ष नेताको बैठकले टुंग्याउने निर्णय गरेको बताए । ‘अहिले हल्ला चलेको विषयमा गठबन्धनको शीर्ष नेताले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने निर्णय भएको छ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *