मेचीनगरमा बाढीको वितण्डाः नगरप्रमुख भन्छन्, तटबन्धनमा मात्र ५ अर्ब खर्च हुन्छ
Published:
by .मेचीनगर । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्रमा यो बर्खामा पनि उही दशा दोहोरिएको छ । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाई खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा क्षति पुर्याएर दशाको पुनरावृत्ति गराएको हो ।
मेचीनगरको अधिकांश क्षेत्र हरेक वर्ष बाढीको चपेटामा परिरहेको छ । तर, मेचीनगर नगरपालिका तथा अन्य जिम्मेवार निकायले यसको कारण खोज्ने प्रयास गरेका छैनन् । कारण नै नखोजेपछि त्यसको निदानको उपाय त धेरै परको कुरा हो ।
मेचीनगर–१५ स्थित पालियाको लिम्बू वस्ती र सशस्त्र प्रहरीको विओपी क्षेत्र नै बाढीको उच्च जाखिममा छ । वर्षेनि बाढीबाट नदी कटानले मेचीनगरका विभिन्न वडाका स्थानीयको बालीनालीमा नष्ट हुँदा लाखौँको क्षति पुग्ने गरेको छ । मेचीनगरको डुवानको सन्दर्भमा नगरपालिकाले पनि खासै चासो नदेखाएको पीडितहरुको गुनासो छ ।
यो वर्षको असार महिनामा भइरहेको लगातारको वर्षासँगै आएको बाढीले मेचीनगरका स्थानीय चिन्तित बनेका छन् । यही चिन्ताको कारण खोज्न तथा समाधानको उपाय पहिल्याउन शनिबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी मेची नदीको कटानले वडा नम्बर १५ को विभिन्न वस्ती डुवानमा परेको थाहा पाएर निरीक्षण गर्न गएका थिए ।
मेचीनगर–१५ स्थित भिण्डी वस्तीको अवस्थाका बारेमा भिण्डी वस्ती युवा समितिका रन्जित सहनीले नगरप्रमुखलाई नदी कटान हुँदा सो क्षेत्र जोखिममा परेको जानकारी गराए । यस्तै, पाहन वस्ती, वंशल टि–स्टेट, १० नम्बरको खडु वस्ती, हेल्दुबारीको निन्दा खोला, पालियाको लिम्बू वस्ती, पालिया पारी सन्थाल वस्ती र सशस्त्र प्रहरी बलको विओपीमा पनि क्षति भइरहेको जनाइएको थियो ।
पालियाको लिम्बू वस्ती र सशस्त्र प्रहरी बलको विओपी क्षेत्र नै बाढीको उच्च जोखिममा रहेको भिण्डी वस्ती युवा समितिका अर्का सदस्य हरिकुमार मर्डीले जानकारी दिए । नदी कटानले सो वस्तीका स्थानीय नरेश विक, मिलन विक, अशोक राई, मन्तोष पाहम, प्रेम गुरुङ लगायतको खेतीबालीमा क्षति पुगेको सहनीको भनाई छ ।
वडा नम्बर १५ स्थित सशस्त्र प्रहरी बल विओपीका नायव निरीक्षक अमर विश्वकर्मा र स्थानीयले शनिबार दिउसो नगरप्रमुख बुढाथोकीलाई खोलाले कटान गरेको प्रभावित क्षेत्रहरु देखाएका थिए । प्रभावित क्षेत्रको अवलोकन पछि नगरप्रमुख बुढाथोकीले आगामी आर्थिक वर्षका लागि प्रदेश र संघीय सरकारले मेचीनगरलाई तटबन्धन वा नदी नियन्त्रणका लागि एकैरुपैयाँ बजेट नछुट्याएको आरोप लगाउँदै नगरपालिकाको बजेटबाट गर्न सकिने योजना सञ्चालन गराउनेछु भनी आश्वासन दिएका छन् ।
‘मेची, हडिया, निन्दा र टिमाई खोलाको बाढीले नदी कटान हुँदा वर्षेनि स्थानीयको खेतीयोग्य जमिनमा क्षति पुगिरहेको अवस्था छ’, नगरप्रमुख बुढाथोकीले भने ‘यसलाई रोक्न स्थानीय सरकारसँग आवश्यक बजेट पुग्दैन । तटबन्धन गर्न करिव ५ अर्ब लाग्न सक्छ, हाम्रो नगरपालिकाको बजेटले भ्याउँदैन । संघीय र प्रदेश सरकारले योजना नदिएसम्म हामी केही गर्न सक्दैनौं ।’
Comments