Sajhamanch Archive

कर्णाली साकोसले कृषि तथा पशुपालन प्रवर्धनमा वडाहरुसँग सहकार्य गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, स्थानीय तह by .

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका पालिका र वडा कार्यालयहरुसँग कृषि तथा पशुपालन प्रवद्र्धनमा छलफल गरी साझेदारी गर्न इच्छा ब्यक्त गरेको छ ।

पशुपालनका निम्ति गोठ व्यवस्थापनमा लगानी गर्दै प्राथमिक उपचार, घाँस तथा दाना उत्पादनमा तालिम दिन वडा कार्यालयहरुले चाहना ब्यक्त गरेकाले कर्णालीले पनि कृषि तथा पशुपालनमा सेवा वृद्धि गर्ने योजना बनाएको हो ।

शिवसताक्षी नगरपालिका वडा नं. १० को उदाहरण दिँदै कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठ भन्छन्, ‘वडा कार्यालयले किसानको लागि आधुनिक गाईगोठ बनाइदिने भएको तर यस्तो गोठ पाउने हरेकले कम्तीमा एक माउ गाई पाल्नैपर्ने बाध्यात्मक व्यवस्था गर्न लागिएको छ ।’

‘कर्णाली साकोससँग पनि कतिपय वडा कार्यालयबाट पशुपालनका लागि लगानी वृद्धि गर्न अनुरोध आएको अवस्थामा हामीले पनि कृषि तथा पशुपालन प्रवद्र्धनमा छलफल गरी साझेदारी गर्न इच्छा ब्यक्त गरेका हौं’ अध्यक्ष श्रेष्ठको भनाई छ ।

कृषि उपज उत्पादन तथा पशुपालको लागि पकेट क्षेत्र मानिएका शिवसताक्षी वडा नं. १०, मेचीनगर वडा नं. ३ र ९, अर्जुनधारा वडा नं. ५ र भद्रपुर वडा नं. २ का जनप्रतिनिधिहरु तथा कर्मचारीहरुसँग यो विषयमा प्रारम्भिक छलफल भएको अध्यक्ष श्रेष्ठले बताए । सहकारीले गर्न मिल्ने र सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरेर संस्थाको कार्यक्षेत्र भित्रका स्थानमा रचनात्मक काम गर्न कर्णाली साकोस सधैं तत्पर रहने पनि अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘कोरोनाको कहरले बितेको दुई आर्थिक वर्षमा कुनै नयाँ र रचनात्मक काम गर्न पाइएन’ साझामञ्चसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले भने, ‘चालू आर्थिक वर्षमा तरलता अभावले झन् संकट थपियो, एकमुष्ठ ठूलो रकम निक्षेप फिर्ता गर्न पनि अप्ठ्यारो परिस्थिति बनेको छ ।’

पहिले पहिले निर्वाचन र सो पछि बजारमा पैसाको प्रवाह धेरै नै हुन्थ्यो, यो वर्षको स्थानीय चुनाव पछि तरलता वृद्धि भएन र ? भन्ने साझामञ्चको जिज्ञासामा उनले भने, ‘हाम्रो संस्थामा कुनै संकेत मिलेन । चुनाव अघि र पछि बचत संकलनको दरमा सामान्य पनि परिवर्तन आएन, सायद चुनावमा अब पैसाको खोलो बग्न छाड्यो कि !’

लघुवित्तको माध्यमबाट ग्रामीण भेगका महिलाहरुलाई वित्तीय अनुशासनमा रही आर्थिक अवस्था सबल बनाउन अग्रसर कर्णाली साकोस यतिबेला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएर सेवारत छ ।

यी तीन जिल्लाका ३९ स्थानमा सेवा केन्द्रमार्फत् सेवाप्रवाह गरिरहेको संस्थाले थप सेवा केन्द्रहरु विस्तारका लागि तालुक अड्डाबाट स्वीकृति लिइसकेको जनशक्ति विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले जानकारी दिए । सामाजिक सेवामा पनि अग्रसर कर्णाली साकोसको कारोबारले यो वर्ष लक्ष्य चुम्न हम्मेहम्मे परिरहेको भट्टराईको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *