कात्तिक ३० मा संघ र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष
Published:
by .काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ ।
कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्नेगरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले बताए ।
‘हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी गरेका छौं’ उनले भने, ‘कात्तिकको अन्तिम सातामा पनि सकेसम्म छिटो निर्वाचन गर्नुपर्छ भनेका छौं । नत्र हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने देखिन्छ ।’
आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पनि निर्वाचनबारे छलफल गरेको थियो । छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थिति बनेको ती पदाधिकारीले बताए ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा निर्वाचन विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने बताए । उनका अनुसार, स्थानीय तहको निर्वाचनमा केही समय अभाव भएकाले दवाव परेको थियो । उनले भने, ‘अहिले त दुई तहको निर्वाचन गर्नुपर्ने भएकाले कम्तीमा चार महिना आवश्यक पर्ने देखिन्छ ।’
केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका वारेमा अनौपचारिक छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएको आयोगका एक पदाधिकारीले बताए ।
स्रोतका अनुसार, ढिलोमा बुधबारसम्म आयोगले औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित सरकारलाई पत्राचार गर्नेछ ।
अलाइनखबरबाट
Comments