डाँफे सामुदायिक साकोस १६ वर्षमाः स्थापना दिवसमा ३८ सेयर सदस्य पुरस्कृत
Published:
by .दमक । यहाँस्थित डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं स्थापना दिवस आज असार २० गते सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा भएको स्थापना दिवस समारोहमा संस्थाले विभिन्न विधामा ३८ जना सेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरेको छ ।
संस्था स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै नेफ्स्कुनका अध्यक्ष पौडेलले साकोसले आफ्ना सदस्य र उनीहरुको परिवारको शिक्षा, स्वास्थ्य एवम् खानपान गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने बताए ।
साकोसका सञ्चालकहरुले आफ्नो व्यवहार र आचरणमा सदैव ख्याल गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष पौडेलले तबमात्र सेयर सदस्यहरुको विश्वास जित्न सकिने बताए ।
संस्थाले सेयर सदस्यहरुलाई पैसा आर्जन गर्ने कार्यक्रमतर्फ उन्मुख गराउनका लागि विभिन्न प्रकारका व्यवसायिक तालिम प्रदान गर्न सदैव अग्रसर बन्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रमका अर्का वक्ता नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारीले बचतलाई उत्पादनसँग जोड्न र सदस्यहरुलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन साकोसहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता सम्पन्न स्थापना दिवस समारोहमा उनले संस्थाको वित्तीय कारोबारको झलकसँगै सामाजिक आर्थिक क्रियाकलापहरुका बारेमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव लीलानाथ खनालले गरेका थिए ।
Comments