Sajhamanch Archive

गुन्द्रुक-सिन्की उत्पादकलाई रोङ गाउँपालिकाले प्रतिकेजी ८० रुपैयाँ अनुदान दिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by .

बिर्तामोड । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आगामी आर्थिक वर्षमा गुन्द्रुक र सिन्कीको ब्रान्डिङ्ग गर्न यसका उत्पादक किसानलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान दिनेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको बताएका छन् ।

बुधबार बिर्तामोडमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव समारोहमा मन्तब्य राख्दै उनले सो कुरा जानकारी गराएका हुन् । गाउँपालिकाले कृषि र पशुपालन प्रवर्धन गर्दै गाउँमा नै सिंहदरबार छ, हाम्रै सरकार छ भन्ने आभाष दिलाउन रचनात्मक कार्यक्रम ल्याउन लागिएको बताए ।

आफ्नो ५ वर्षे कार्यकालमा रोङका बासिन्दाले के के उत्पादन गर्न सक्छन् र के के वस्तु स्वदेशमा र विदेशमा पनि निर्यात गर्न सकिन्छ भन्ने अनुसन्धान गर्ने, कम्तीमा १५ वटा वस्तुको ब्राण्डिङ गर्दै बजारीकरण गर्ने र पालिकाबासीलाई समृद्ध बनाउने मेरो योजना छ’ गाउँपालिका अध्यक्ष स्याङ्बोले दृढता व्यक्त गरे ।

‘सहकारी संस्थाहरु बलियो भए भने गाउँको समृद्धिका लागि साधन बन्न सक्छन्’ अध्यक्ष स्याङ्बोले भने, ‘सिङ्गो गाउँपालिका तपाईंको साथमा रहनेछ, गुणस्तरीय उपभोग्य वस्तु उत्पादनमार्फत् रोङको परिचय फेरिनेछ ।’ अध्यक्ष स्याङ्बोले पहिलो वर्ष परीक्षणका लागि गुन्द्रुक र सिन्कीको ब्राण्डिङ गर्ने प्रयोजनका लागि प्रतिकेजी ८० रुपैयाँ यसका उत्पादकलाई अनुदान दिने नीति पास गरेर उद्यमशीलतातर्फ सबैको ध्यानाकर्षण गर्न खोजिएको बताए ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषि उत्पादन बिक्री विवरणको आधारमा प्रतिकेजी अनुदानको ब्यवस्था मिलाउने उल्लेख छ । एक वडा एक सहकारी बनाउन सहकारी एकीकरण गर्ने र बलियो एवम् सबल सहकारीको परिकल्पना अध्यक्ष स्याङ्बोको भनाई छ ।

छरिएर रहेको कृषि उत्पादनलाई सहकारीले खरिद गर्ने, प्याकेजिङ्ग गर्ने र बजारीकरण गर्नुपर्ने योजना अघि सारेको पालिकाले उत्पादन खरिद विवरणको आधारमा उत्पादकलाई ८० रुपैयाँ प्रतिकेजी अनुदान दिँदै प्याकेजिङ्ग र बजारीकरणमा सहयोग गर्ने निति अवलम्बन गरेको उनले बताए ।

उत्पादनमा सहयोग गर्न किसानलाई सहकारी मार्फत सहुलियत कर्जाको सहजीकरण गरिदिने तर अनुदानको दुरुपयोग हुने सम्भावना भएकोले अनुदान दिने नीति नै बन्द गर्ने उनको भनाई छ ।

गाउँमा छरिएर रहेका कृषि उत्पादनलाई सहकारीले खरिद गर्ने कार्यमा समेत आवश्यक परे गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *