Sajhamanch Archive

सहारा नेपालमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण : १५ अर्ब ३० करोडको वासलात

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । सेयर सदस्य संख्या र शेयर पुँजीका आधारमा नेपालकै सबैभन्दा उत्कृष्ट र ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा नवनिर्वाचित नेतृत्वलाई आज पद हस्तारन्तरण गरिएको छ ।

झापाको बिर्तामोड २ रामचोकस्थित एक रिसोर्टमा कार्यक्रम आयोजना गरेर सहाराले नवनिर्वाचित समितिको पद हस्तान्तरण गरेको हो । संस्थाको चारवर्षे कार्यकालको लागि गत जेठ महिनाको अन्तिम साता सर्वसम्मत नयाँ नेतृत्व चयन भएको थियो ।

संस्थाले योपटक अध्यक्षसहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । नवनिर्वाचित समितिका सबैले यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।

कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले नवनिर्वाचित अध्यक्ष हरिबहादुर राजवंशीलाई साकोसको माइन्युट हस्तान्तरण गरेका थिए भने अध्यक्ष राजवंशीले निवर्तमान समितिलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, एमाले झापा अध्यक्ष दिपक कार्की, कांग्रेस झापा सभापति देउकुमार थेवे, राप्रपा झापा अध्यक्ष केशव ओझा, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सदस्य घनश्याम अधिकारीलगायतले पदभार ग्रहण गर्ने नेतृत्वलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले स्वागत मन्तव्य राख्दै बैंकहरुभन्दा उत्कृष्ट सेवा प्रदान गर्नेगरी संस्था अघि बढेको जानकारी दिए । उनले सहारालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्घोष पनि गरे ।

सहारा नेपालमा हालसम्म एक लाख ६० हजार सदस्य पुगेका छन् भने ७७ वटा सेवाकेन्द्र रहेका छन् । सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुई–दुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको गिरीले बताए ।

संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले बताए ।

जेठ मसान्तसम्म संस्थाको वासलात १५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । संस्थालेले आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको वासलातको लक्ष्य बनाएको प्रमुख कार्यकारी गिरीले जानकारी दिए ।

२७ वर्षमा आइपुग्दा संस्थाले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको जनाइएको छ । लघुवित्तमार्फत महिला सशक्तीकरणमा योगदान पुर्याएबापत सन् २०१२ मा सियुएमआइ पर्फमन्स अवार्ड र सदस्यहरुको संरक्षणमा काम गरेबापत सन् २०२१ मा स्मार्ट सर्टिफिकेट प्राप्त गरेको हो ।

संस्थाले गरिबी निवारण, स्वास्थ्य, शिक्षा, जैविक विविधता तथा वातावरण संरक्षण, खाद्य सुरक्षा, स्वच्छ ऊर्जाका क्षेत्रमा काम गर्दै दिगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

त्यस्तै, रोजगारी सिर्जनामा योगदान, कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग, पशुपालनमा किसानलाई सहयोग, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *