खुदुनाबारीमा आँखा तथा कानको निःशुल्क परीक्षण शिविर
Published: (Updated: )
by .अर्जुनधारा । सनराइज बैंक लिमिटेड बिर्तामोड शाखाको आयोजनामा खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परीक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोडस्थित दृष्टी आई एण्ड इयर हस्पिटलको प्राविधिक सहयोगमा अर्जुनधारा नगरपालिका वडा नं. ३ को कार्यालय परिसर खुदुनाबारीमा शिविर सम्पन्न भएको हो ।
सनराइज बैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंको अध्यक्षतामा सञ्चालित शिविर आयोजनाको औचित्य माथि प्रकाश पार्दै उनले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा तथा कान परीक्षण शिविर आयोजना गरिएको बताए । बैंक नाफामुखी मात्र नभएर सेवामुखी हुनुपर्ने जनाउँदै शाखा प्रमुख गुरागाईंले आफूहरु ग्राहकसँगै समाजको सेवामा संधै तत्पर भएको जनाए ।
सनराइज बैंकको वित्तीय कारोबार तथा अवस्थितिबारे जानकारी दिँदै शाखा प्रमुख गुरागाईंले बैंकका देशभर १३९ वटा शाखा, ९० वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए ।
अर्जुनधारा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा उद्घाटन मन्तब्य राख्दै भट्टराईले बैंकले आफू नेतृत्वको वडा कार्यालय परिसरमा नै निःशुल्क आँखा तथा कान परीक्षण शिविर आयोजना गरेर यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याएकोमा खुशी व्यक्त गरे ।
बैंकले नाफामुखी मात्र नभएर जनताको सेवक पनि बन्नुपर्छ भन्ने उदाहरण सनराइज बैंकले प्रस्तुत गरेको उनको भनाई थियो । वडाध्यक्ष भट्टराईले बैंकिङ्ग कारोबार गर्न सनराइज बैंक उपयुक्त भएको पनि स्थानीयलाई भरोसा दिलाए ।
दृष्टी आई हस्पिटल बिर्तामोडका सञ्चालक अजितकुमार ठाकुर, श्यामसुन्दर यादवलगायतले सनराइज बैंक लिमिटेड बिर्तामोड शाखासँग सहकार्य गरेर खुदुनाबारीमा आँखा तथा कान परीक्षण शिविर आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे ।
दृष्टी आई हस्पिटल बिर्तामोडका प्राविधिक रोमा फियाक, ममता मिश्र, सञ्जय केरुङलगायतले शिविरमा सहभागीको आँखा तथा कान परीक्षण गर्नुका साथै चश्मा र औषधि निःशुल्क प्रदान गरेका थिए ।
शिविर उद्घाटन कार्यक्रमको सञ्चालन सनराइज बैंकका वरिष्ठ सहायक श्यामकुमार गुरुङले गरेका थिए ।
Comments