प्रदेश १ मा स्थापित थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ अभियानको भरोसा बन्नेमा विश्वास
Published:
by .झापा । प्रदेश १ का कृषि तथा पशुपन्छी विकास मन्त्री झलकबहादुर दर्लामी मगरले निजी क्षेत्र, सहकारी र तीनै तहका सरकारको सहकार्यमा मात्र राष्ट्रिय संकल्प पूरा हुने बताएका छन् ।
प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडले आइतबार दमकमा आयोजना गरेको प्रारम्भिक साधारणसभाको उद्घाटन पछि मन्तव्य राख्दै मन्त्री मगरले यस्तो बताएका हुन् । देश अहिले संकटबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा सरकार एक्लैले केही गर्न सक्दैन । यसका लागि निजीक्षेत्र, सहकारी र सरकार मिलेर अगाडि बढेमा देशको विकास सम्भव हुने उनको भनाई थियो ।
सामान्य कृषकहरुले उत्पादन गरेका गुणस्तरीय वस्तुले पनि बजार नपाइरहेको परिप्रेक्ष्यमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघमार्फत् बजारीकरणको प्रयास सराहनीय रहेको उनले बताए । ‘यस्तो अवधारणासँग प्रदेश सरकार सहमत छ र बजारीकरणको समस्यालाई समाधान गर्न सक्दो पहल गरिनेछ’ मन्त्री दर्लामीले विश्वस दिलाएका छन् ।
कोरोना महामारीको अन्तर्राष्ट्रिय संकट नसकिँदै विश्व नै आर्थिक मन्दीमा धकेलिएको वर्तमान परिवेशमा थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले अघि सारेको कार्ययोजना र परिकल्पना प्रशंसनीय रहेको बताउँदै मन्त्री दर्लामीले यसलाई साकार बनाउन प्रदेश सरकारको महत्वपूर्ण सहयोग रहने पनि विश्वास दिलाए ।
३६ थियौं १०० बन्ने, एक करोड ३६ लाखबाट दुई करोड पुर्याउनेः
प्रदेश नम्बर १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित प्रारम्भिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै दर्ताभएदेखि हालसम्म भए गरेका प्रशासनिक एवम् वित्तीय कारोबारहरुको जानकारी गराए ।
अध्यक्ष गिरीले हालसम्म ३६ वटा प्रारम्भिक सहकारी संस्थाहरुले अहिलेसम्म थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडको शेयर खरिद गरी आवद्धता जनाएको सुनाए । ती संस्थागत शेयर सदस्यहरुबाट हालसम्म एक करोड ३६ लाख पुँजी संकलन भएको अवगत गराए । छाटो समयमा संघले गरेका प्रगतिउन्मुख कामको कारण धेरैवटा सहकारीका सञ्चालकहरु सकारात्मक भएको अवगत गराउँदै चालू आर्थिक वर्षमा नै १०० वटा पुर्याउने र शेयर रकम पनि कम्तीमा २ करोड पुर्याउने साधारणसभा हलमा प्रस्ताव राखे ।
एक वर्षको कारोबारबाट गत जेठ मसान्तमा एक करोड ५१ लाख ४६ हजार ४२३ को वासलात बनाएको संघले कृषि औजार, उपकरण, स्टेशनरी, अल्पाइन ब्राण्डमा चियाको प्याकेजिङ, मह, मायाको चिनो आदि वस्तुहरुको कारोबार पनि थालेको अध्यक्ष गिरीले जनाए । आगामी आर्थिक वर्षमा जिरा, धनिया, मेथी, ल्वाङ, मरिच आदि मसलाहरु अल्पाइन ब्राण्डमा प्याकेजिङ गरेर बजारीकरण गर्ने तथा घिऊ र तोरीको शुद्ध तेलको थोक विक्रेता बन्ने योजनका साथ काम अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ ।
संघबाट बजारीकरणमा ठोस मद्धत पुग्ने अपेक्षा :
बजार अभावका कारण कृषकलाई धेरै उत्पादन गर भन्न सक्ने अवस्था नरहेको सन्दर्भमा सञ्चालनमा ल्याइएको थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघबाट साधारणसभाको उद्घाटन सत्रमा मन्तब्य राख्ने सहकारीकर्मीहरुले ठोस मद्धत पुग्ने अपेक्षा राखेका छन् ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बजारीकरणको अभावमा किसानले आफ्नो उत्पादन कुहाउने, बाटोमा पोख्नुपर्ने वा गाईबस्तुलाई खुवाउनुपर्ने बाध्यताको अन्त्य गर्न विशिष्टिकृत सहकारी संघ साधन बन्नुपर्ने सुझाव दिए ।
संघले कृषि अनुसन्धान, बजारीकरण, ट्रेडमार्क जस्ता कार्यहरु गरी गुणस्तरीय बस्तुको पहिचानसँगै बजारीकरण गर्दा आयात प्रतिष्थापनमा पनि ठोस मद्धत पुग्ने ढकालले विश्वास ब्यक्त गरे ।
कार्यक्रमका अर्कावक्ता कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष मिना ढकालले संघीय सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट आफ्नो प्रारम्भिक संस्थाले धान खरिद गर्दा करिव ६० लाख रुपैयाँ घाटा भएको सुनाउँदै राज्यका सञ्चालकहरु गैर जिम्मेवार बनेको दृष्टान्त सुनाइन् ।
उनले नेपालमा उत्पादन हुनसक्ने वस्तुहरु पूर्णरुपमा आयात प्रतिबन्ध नगरेसम्म वर्षेनी ब्यापार घाटा बढिरहने सुनाउँदै प्रदेश कृषिमन्त्रीले कम्तीमा पनि सागसब्जी आयातमा प्रतिबन्ध लगाइहाल्नुपर्ने माग गरिन् ।
साधारणसभा उद्घाटन समारोहमा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोख्रेल, नेफ्स्कोनका पूर्व सञ्चालक तथा जिल्ला बचत तथा ऋण सहकारी संघ झपाका उपाध्यक्ष चन्द्रा खड्का, प्रदेश सहकारी संघ तथा जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
प्रदेश नम्वर १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडका प्रबन्ध सञ्चालक प्रेम सापकोटाले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा उपस्थित अतिथि तथा सहभागीहरुलाई सदस्य अमृत गुरुङ्गले शाब्दिक स्वागत गरेका थिए ।
सो अवसरमा प्रदेश नम्बर १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेडका सदस्य संस्थाका प्रतिनिधिहरुलाई प्रमुख अतिथि कृषिमन्त्री मगरको हातबाट प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
संघको अध्यक्षमा महेन्द्र गिरी सर्वसम्मत चयनः
प्रदेश नं. १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले महेन्द्रकुमार गिरीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र अमृत गुरुङको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।
झापाको दमकमा आयोजित प्रारम्भिक साधारणसभाले चार वर्षे कार्यकालका लागि गठन गरेको थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको उपाध्यक्षमा टिकादत्त वन र सचिवमा प्रेम साकोटा सर्वसम्मत भएका छन् ।
यसैगरी सञ्चालक सदस्यहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल छानिएका छन् ।
संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यहरुमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी पनि सर्वसम्मत भएका छन् ।
विशिष्टिकृत संघको तदर्थ समितिका संयोजक रहेका सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष गिरीले संघलाई कस्तो बनाउने र सदस्य संस्थाहरुको भूमिका कस्तो रहनुपर्ने भन्ने विषय उठान गर्दै प्रतिवद्धता मन्तब्य राखेका थिए ।
Comments