‘विकासको काममा तीनै तहको समन्वय आवश्यक’
Published:
by .विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय बिना विकास सम्भव नभएको बताएका छन् ।
आज सोमबार विराटनगरमा आयोजित ‘सङ्घ, प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता’ विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका हुन् ।
‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठूलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा पनि वडाध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । यसो हुँदा कसरी विकासका काम अगाडि बढ्छन् त ?’ मन्त्री कार्कीको प्रश्न थियो ।
सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए ।
‘ऐन अनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यति, उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यति भन्ने हुन्छ ?’ उनले प्रश्न गरे ।
गाउँपालिका महासङ्घलाई स्थानीय तहमा जनताका भावना अनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीको आग्रह छ ।
Comments