झापामा ३८ हजार बढी आर्थिक उपार्जन प्रतिष्ठान
Published:
by .झापा । आर्थिक उपार्जनका लागि केही न केही गर्न अग्रसर झापाबासीहरुका ३८ हजार ७८९ वटा उद्योग, व्यापार र सेवा प्रतिष्ठान स्थापना भएकोमा आधाउधी जति नियामक निकायको स्वीकृति बिना नै सञ्चालनमा रहेको एक प्रतिवेदनमा उल्लेख छ ।
तथ्याङ्क विभागले गरेको प्रथम आर्थिक सर्वेक्षण २०७५ को तथ्याङ्क अनुसार झापामा सञ्चालनमा रहेका उद्योग, व्यापार र सेवा प्रतिष्ठानमध्ये आधाजति सरकारी अनुमतिबिनै सञ्चालनमा रहेको पाइएको हो ।
तथ्याङ्क कार्यालय मोरङ—झापाले आज भद्रपुरमा सार्वजनिक गरेको झापाको आर्थिक सर्वेक्षण विवरणले आर्थिक क्रियाकलापमा निरन्तर कार्यरत निकायका गतिविधिलाई २२ वटा सूचकका आधारमा गणना गरिएको प्रष्टा पारिएको छ ।
तथ्याङ्क विभाग मोरङ तथा झापा हेर्ने कार्यालय प्रमुख तीर्थराज बरालका अनुसार प्रदेश १ मा एक लाख ६८ हजार ५१८ वटा उद्योग, व्यपार र सेवा प्रतिष्ठान रहेका छन् । त्यस्ता निकायबाट पाँच लाख ४४ हजार व्यक्तिले रोजगारी पाएको उल्लेख छ ।
झापामा एक लाख १६ हजार व्यक्तिले रोजगारी पाएका छन् । दर्ता भएर सञ्चालनमा आएका निकायबाट ७५ प्रतिशत र विनादर्ता सञ्चालनमा रहेका निकायबाट २५ प्रतिशतले मात्र रोजगारी पाएको कार्यालय प्रमुख बरालले जानकारी दिए ।
आर्थिक सर्वेक्षण विवरण अनुसार लेखा राखेर व्यवस्थित सञ्चालन हुने ४७ प्रतिशत र लेखा विवरण नराख्नेमा ५३ प्रतिशत उद्योग व्यवसायहरु रहेको देखिएको छ ।
झापा जिल्लाका पालिकाहरुमध्ये उद्योग र व्यापारिक प्रतिष्ठान सबैभन्दा बढी क्रमशः मेचीनगर, दमक, बिर्तामोड र भद्रपुर पर्दछन् । लेखा श्रेस्ता राखेर व्यवस्थित सञ्चालनमा रहेका प्रतिष्ठानहरु क्रमशः बुद्धशान्ति, शिवसताक्षी, गौरीगञ्ज र कचनकवलका देखिएका छन् । लेखा नराख्ने उद्योगी व्यवसायीहरुमा बाह्रदशी, बिर्तामोड र भद्रपुर अग्रस्थानमा रहेको तथ्याङ्क विभागको विवरणमा उल्लेख छ ।
झापामा घर जमिन भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने प्रतिष्ठानहर धेरै रहेका छन् भने आफ्नै घरमा सञ्चालनमा रहेकाहरु कममात्र छन् । १ देखि ४ जनासम्मले रोजगारी पाएका प्रतिष्ठानहरु ९० प्रतिशत रहेका छन् ।
झापामा प्रमुख जिल्ला अधिकारी छविराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तथ्याङ्क कार्यालय मोरङ—झापाका प्रमुख बरालले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए ।
Comments