कनकाई नगरपालिकाद्वारा सञ्चारकर्मी, कर्मचारी, पूर्वजनप्रतिनिधिसहित दर्जनौंलाई पुरस्कार र सम्मान
Published:
by .कनकाई । कनकाई नगरपालिका झापाले बिहीबार राजपत्र प्रकाशन गरी ‘कनकाई नगरपालिकाको आर्थिक ऐन २०७९’ सार्वजनिक गरेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि लागू हुने आर्थिक कारोबारलाई कानुनसम्मत बनाउन ऐन सार्वजनिक गरिएको हो ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम पारित गरेर कार्यान्वयनमा लैजान आर्थिक ऐन जारी गरिएको हो ।
सोही कार्यक्रममा युट्युवर, फेसबुक पेज एड्मिन, फोटो पत्रकार, स्तम्भकार र राससकर्मी पत्रकारसहित नगरपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधि एवं केही कृषकलाई सम्मान र नगद पुरस्कार प्रदान गरिएको थियो ।
नगरपालिकाबाट सम्मान ग्रहण गर्नेहरुमा राष्ट्रिय समाचार समिति भद्रपुरका प्रमुख अम्बिका भण्डारी, कनकाई सुरुङ्गा प्रेस क्लवका संस्थापक अध्यक्ष एवम् पुर्वाञ्चल दैनिकका स्तम्भकार तीर्थराज खरेल, फोटो पत्रकार समाजका झापा अध्यक्ष तथा आमसंचार डटकमका विनोद पाण्डे, युट्युवर दिपेश प्रसाइँ र फेशबुक पेजका एड्मिन मदन संग्रौला रहेका छन् । उनीहरुलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
सम्मानित हुने अन्यमा कनकाई नगरपालिकाको प्रशासनीक भवन निर्माण अनुगमन समितिका सदस्य तथा वडा नं. १ का निवर्तमान वडाअध्यक्ष रोशनराज पोखरेल, सबैभन्दा बढी घर बहाल कर तिर्ने सनराइज बैंक सुरुङ्गा, घरनक्सा पास दस्तुर वापत धेरै कर तिर्ने शिशिरकुमार पोखरेल, सम्पत्ती करतर्फ कृष्ण÷प्रेमकुमार गिरी, कृर्षितर्फ भिम सुब्वा छन् । त्यस्तै निर्माण उपभोक्ता समितिका तर्फबाट कनकाई ३ स्थित शान्ति मार्ग निर्माण उपभोक्ता समितिलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।
नगरपालिकाका कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, कुशल हुमागाई, अनुप रेग्मी, कुलबहादुर गुरुङ, उमानाथ ढकाल, निर्मला बाँस्कोटा, रुपा बस्नेत, याम अधिकारी, कोपिला अधिकारी, अस्मिता गुरुङ, मनिता राई लगायतलाई जनही नगद २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तै हालै सम्पन्न स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पादन गर्न महत्वपूर्ण भूमिका खेलेकोमा निर्वाचन अधिकृत दिपक कोइराला, सहायक अधिकृत विवेक पाठकसहित कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरियो ।
उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।
Comments