Sajhamanch Archive

विराटनगरमा कोरोना फैलिँदै : नागरिकलाई सतर्कता अपनाउन महानगरको आह्वान

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । जिल्ला कारागार मोरङ भित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विराटनगर– ८ मा रहेको मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागार भित्र रहेका अन्य कैदीबन्दीमा पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको कारागार स्रोतले बताएको छ ।

कारागार भित्र संक्रमण फैलिएको र बजारमा पनि संक्रमण देखिएका कारण महानगरपालिकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । महानगरले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि आग्रह गरेको छ ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ ‘महानगरपालिका क्षेत्रभित्र संक्रमितको संख्या पुनः बढ्दै गइरहेको तथ्यलाई मध्यनजर गर्दै जोखिम तथा गम्भिरताको न्यूनीकरणका लागि अत्यावश्यक नभई घर बाहिर नजान र अनावश्यक भिडभाड नगर्न, भौतिक दुरी कायम गरी मास्कको उचित प्रयोगलाई निरन्तरता दिन साथै जनस्वास्थ्यका सबै मापदण्डहरु पालना गर्न अनुरोध छ ।’

कारागारमा रहेका संक्रमितलाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । अस्पतालमा भर्ना गरिएका अधिकांश संक्रमितमा अत्याधिक ज्वरोको समस्या छ । पछिल्लो समय ज्वरोको समस्या लिएर अस्पताल जाने विरामीको संख्या पनि बढ्दो क्रममा रहेको चिकित्सकहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *