Sajhamanch Archive

दमकमा नगरप्रमुखको हठले बजेट पास नभएको कार्यपालिका सदस्यहरुको स्पष्टोक्ति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

दमक । दमक नगरपालिकाको चालू आर्थिक वर्षको बजेट पास नहुनुमा नेकपा एमाले कारण नभएको जनप्रतिनिधिहरुले दावी गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आज दमकमा पत्रकार सम्मेलन गर्दै नगरसभा सदस्यले दिएको सुझावलाई कार्यपालिका बैठकमा लगेर छलफल गर्नुपर्ने दायित्वबाट नगरप्रमुखले पन्छिँदा अहिलेको समस्या आएकोे उनीहरुको दावी छ ।

कार्यपालिका सदस्य लोकबहादुर धिमालले गत असार १० गते नगरसभामा पेश भएको बजेट र नीति तथा कार्यक्रममा नगरसभा सदस्यले दिएको सुझाव कार्यपालिका बैठकमा प्रस्तुत गरी छलफल गर्नु पर्नेमा नगरप्रमुख राम थापाले सिधै बजेट पास गर्न खोज्दा समस्या आएको जिकिर गरे ।

संविधानले तीन तहको सरकार कायम गरिसकेपछि प्रदेश र संघमा जस्तै स्थानीय तहमा पनि संसदीय दलको अभ्यास हुनुलाई अनौठो नमान्न जिकिर गर्दै धिमालले थपे, संविधानमा यो कुरा नभएको भए संविधान संशोधन गरेरै भए पनि स्थानीय सरकारमा पनि संसदीय दल र सत्तापक्ष प्रतिपक्ष हुनुपर्ने बताए । धिमाल दमक नगरपालिकामा २०५४ सालमा निर्वाचित नगर उपप्रमुख हुन् ।

कार्यपालिका सदस्यको लागि बैठक कक्ष माग गरिएको भए पनि गाडी सुविधाका विषयमा आफूले कुरा नगरेको उनले स्पष्ट पारेका छन् ।

पत्रकार सम्मेलनमा निवर्तमान नगरप्रमुख तथा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले एक्लो व्यक्तिको हठले नगरपालिका नचल्ने भन्दै नगरप्रमुखले तत्कालै कार्यपालिका बैठक बोलाएर नगरसभा सदस्यले दिएका सुझावहरु समेट्नु पर्ने सुझाव दिए । कार्यपालिका बैठक नबोलाएसम्म नगरसभामा आफ्नो पार्टीका प्रतिनिधिहरुको उपस्थिति नहुनेसमेत उनले सार्वजनिक रुपमा जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *