गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहनुपर्नेः कांग्रेस पूर्व महामन्त्री सिटौला
Published: (Updated: )
by .भद्रपुर । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक आन्दोलनमा वीपीको विचार सधैं मार्गदर्शक रहेको बताएका छन् ।
भद्रपुर १० स्थित चन्द्रगढी वीपी चौकमा आयोजित वीपीको ४१औं स्मृति दिवसलाई सम्बोधन गर्दै सिटौलाले २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा वीपीको विचार नै मार्गदर्शक भएको बताएका हुन् ।
संघ र प्रदेश तहको निर्वाचनमा गठबन्धनको अर्थ र महत्व रहेको उनको भनाई छ । पूर्व महामन्त्री सिटौलाले संघीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहनुपर्ने आवश्यकता औंल्याएका हुन् ।
नेता सिटौलाले संघीयतासहितको गणतन्त्र नेपालको मुद्धा उल्ट्याउने प्रतिगामी सोचको कुनै पनि दुस्साहस अब सफल हुँदैन भन्ने सन्देश स्थानीय तह निर्वाचन मार्फत प्राप्त भएकाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहने पनि प्रष्ट पारेका छन् ।
नेपाली काँग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराई लगायतले धारणा राख्दै नेपाली राजनीतिमा वीपीको विचार इमान्दारिताका साथ अनुशरण गर्नसके राजनीति नागरिकका लागि अनुकरणीय हुने बताए ।
Comments