प्रतिनिधिसभाबाट नागरिकता विधेयक बहुमतले पारित, कतिपय प्रावधानबारे पूर्व कानूनमन्त्री खरेलको टिप्पणी (भिडियो सहित)
Published: (Updated: )
by .झापा । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभामा आजै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेका थिए । आज दिनभर विधेयकमाथि छलफल पछि बहुमतले पारित भएको हो ।
नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका सांसदहरुले राज्य व्यवस्था समितिमा छलफल गरी सहमतिमा पुगेको विषयका आधारमा संशोधन प्रस्ताव दर्ता गराए पनि बहुमतका आधारमा पारित गरिएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए ।
विपक्षी दलहरु नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे । कम्तीमा ७ वर्ष पछिमात्र उनीहरुलाई अंगीकृत नागरिकता दिनुपर्ने अडानमा प्रतिपक्षी दलहरु थिए तर सत्तारुढ दलले हतारमा बहुमतले पास गराएको हो ।
नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।
गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए । उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए ।
प्रतिनिधिसभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रियसभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागू हुनेछ ।
यसैबीच, नेकपा एमाले स्थायी कमिटीका सदस्य, पूर्व कानूनमन्त्री तथा पूर्व महान्याधिवक्ता अग्नि खरेलले सत्तारुढ दलले नागरिकता सम्बन्धी राज्य व्यवस्था समितिमा छलफल गरी पहिले नै सहमति गरेको विषयलाई लत्याएर सस्तो लोकप्रियता कमाउन अवैज्ञानिक दफा अघि सारेको आरोप लगाएका छन् ।
झापामा अहिले साँझ पत्रकारहरुसँग कुरा गर्दै नेता खरेलले भने, ‘एमाले सरकारमा हुँदा नागरिकता अध्यादेशमार्फत् ल्याउन खोजिएको जे जे विषय थिए ती अधिकांश जस्ताको तस्तै छन्, उतिबेला विरोध गर्ने कांग्रेसकै सांसदहरु अहिले समर्थनमा ताली बजाइरहेका छन् ।’
‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता प्रदान गर्न कम्तीमा ७ वर्ष कुर्नुपर्छ भनेर सबैभन्दा बढी अडान राख्ने प्रचण्ड र उनको दल आज किन निरीह बन्यो ? एस दलका मान्छेहरु किन चुप बसे ? राज्य व्यवस्था समितिमा छलफल गरी सहमति गरेको विधेयक फिर्ता गरेर नयाँ ल्याउन कसले उक्सायो ?’ पूर्व महान्यायाधिवक्ता खरेलले प्रश्न गरेका छन् ।
हेर्नुस् भिडियो……
Comments