Sajhamanch Archive

एसईई नतिजा आज बुधबार प्रकाशन गरिँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को अन्तिम परीक्षा एसईईको नतिजा आज दिउँसो सार्वजनिक गर्ने भएको छ ।

एसईई नतिजा सार्वजनिकअघि दिउँसो १ बजेका लागि परीक्षा बोर्डको बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिएका छन् ।

मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।

बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नाम थर लगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले बताए ।

कोभिड महामारीको दुई वर्षपछि यसपटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *