मेचीनगर नगर कार्यपालिकाको निर्णयहरुः भूमिहिनलाई जग्गा, पाटापुरमा बसपार्क, सञ्चार प्रतिष्ठान कार्यविधि पारित
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले १३ वटा बुँदामा विभिन्न निर्णयहरु गरेको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकले वार्षिक योजना तथा कार्यक्रम कार्यान्वयन मार्ग दर्शन सम्बन्धमा, कार्यविधि तथा मापदण्ड सम्बन्धमा, नगर कार्यपालिकाको कार्यालयका सवारी साधन सञ्चालन मापदण्ड निर्धारण गरेको छ ।
यस्तै, इन्धन सुविधा मापदण्ड, नगर सञ्चार प्रतिष्ठान सञ्चालन कार्यविधि, जग्गा वर्गीकरण सम्बन्धमा, भूमिहिन सुकुमबासी, भूमुहिन दलित र अव्यवस्थित बसोबासीको, सामी परियोजना सम्बन्धी निर्णय गरिएको छ ।
त्यस्तै वैठकले जग्गा प्राप्ति सम्बन्धमा, नगर प्रहरीको परीक्षाफल प्रकाशित गर्ने सम्बन्धमा, बेंशीबजार हाट बजार प्रयोग भएको जग्गा सम्बन्धमा, सरस्वती बालकल्याण मावि मेचीनगर–१२ र इष्ट होराइजन अंग्रेजी विद्यालयमा कक्षा ११ मा विषय थपको अनुमति सम्बन्धमा, प्रिभेन्सन एण्ड कन्ट्रोल अफ कोभिड–१९, साना शहरी योजनाका लागि जग्गा व्यवस्थापन सम्बन्धमा, सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकसँगको सम्झौता र तारजाली खरिद सम्बन्धमा निर्णय गरेको जनाइएको छ ।
नगरप्रमुख बुढाथोकीले वडा नम्बर ८ मा भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने बताएका छन् । उनले पाटापुरमा बसपार्क र वडा नम्बर ५ का लागि जग्गा उपलब्ध गराउने बताए । धुलाबारी स्वास्थ्य केन्द्रमा थप १६ वेडका लागि भवन बनाउने कार्यपालिकाले निर्णय गरेको जनाइएको छ ।
यसैबीच, मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको वैठकले सञ्चार प्रतिष्ठान सम्बन्धी कार्यविधि पारित गरेको हो ।
मेचीनगरमा दर्ता गरी प्रकाशन प्रसारण भइरहेका संचार गृहको स्थायित्व र संस्थागत विकास गर्न आवश्यक देखिएकोले स्थानीय सरकार संचालन ऐन २०७४ र मेचीनगर नगरपालिकाको प्रशासकीय कार्यविधि २०७५ को दफा ४ अनुसार नगर सञ्चार प्रतिष्ठान गठन तथा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरी जारी गरिएको छ ।
प्रतिष्ठानमा १ जना अध्यक्ष, ३ महिलासहित ७ जना सदस्य र १ जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।
अध्यक्ष हुनलाई पत्रकारिता वा अन्य विषयमा स्नातक तह उतीर्ण गरी सञ्चार क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्ने, सदस्यको हकमा न्यूनतम ३ वर्ष सञ्चार क्षेत्रमा अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ भने सदस्य सचिवको हकमा सञ्चार क्षेत्रमा न्यूनतम ५ वर्ष अनुभव र नेपाल पत्रकार महासंघको सदस्यता लिएको हुनु पर्नेछ ।
नगरभित्रका तथा बाहिरका पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा सूचना, विवरणहरु तथा लोक कल्याणकारी विज्ञापनका सम्बन्धमा प्रतिष्ठानको सिफारिसमा नगरकार्यपालिकाले निर्णय गर्नेछ ।
Comments