Sajhamanch Archive

जगदीप धनखर भारतको नयाँ उपराष्ट्रपति निर्वाचित

Published: in मिडियाबाट साभार, राजनीति, विश्व समाचार by .

नयाँ दिल्ली । पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाले पाएको १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका छन् । १६औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको जानकारी दिए । १५ मत अमान्य र ७१० मत मान्य भएको उनले बताए ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भई ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नरसमेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो ।

भारतका नवनिर्वाचित उपराष्ट्रपति धनखडले ११ अगस्टमा शपथ लिनेछन् । वर्तमान उपराष्ट्रपति वेंकैया नायडूको कार्यकाल १० अगस्टमा सकिनेछ ।

भारतमा उपराष्ट्रपति देशका दोस्रो सर्वोच्च संवैधानिक पद हो । भारतमा उपराष्ट्रपति राज्यसभाका सभापति पनि हुन्छन् ।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी समुदायबाट राष्ट्रपति निर्वाचित भएकी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *