पत्रकार पराजुलीमाथि भइरहेको चौतर्फी आक्रमण रोक्न प्रेस चौतारीद्वारा चेतावनी
Published:
by .झापा । प्रेस चौतारी झापाका सदस्य एवम् हिमशिखर टिभीका समाचार संयोजक दमक–१० निवासी पत्रकार भूमिराज पराजुलीलाई कार्यरत संस्थाले बर्खास्त गरेको, पूर्वाञ्चल दैनिकले कसुर प्रमाणित नभई फोटोसहितको समाचार प्रकाशन गरी आचारसंहिता उल्लंघन गरेको र नेपाल पत्रकार महासंघ झापाले पराजुलीलाई निलम्बनका लागि प्रदेश समितिलाई गरेको सिफारिसको घटनाप्रति प्रेस चौतारी झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार पराजुलीले फोनको माध्यमबाट र सामाजिक सञ्जालबाट पनि आफू परिबन्दमा परेको अवगत गराउँदै सम्बन्धितको रकम फिर्ता गर्न आफूले प्रयास गरिरहेको र घटनाको छिनोफानो गर्न आफू काठमाडौंमा नै रहेको जानकारी दिइरहँदा उनलाई चारैतिरबाट अपराधी झैं व्यवहार भइरहेकोप्रति प्रेस चौतारीले दुःख पनि व्यक्त गरेको छ ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा केन्द्रीय समितिका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरुसहित संगठनका इन्चार्जको उपस्थितिमा आज सम्पन्न विस्तारित बैठकले उक्त निर्णय गरेको हो । संगठनका सचिव प्रकाश पौडेलले हस्ताक्षर गरी आज साँझ जारी विज्ञप्तीमा हिमशिखर टेलिभिजनबाट पत्रकार पराजुलीलाई गरिएको बर्खास्त अविलम्ब फिर्ता लिई निःशर्त एवम् ससम्मान सोही पदमा पुनर्वहालीको माग गरिएको छ ।
पत्रकार पराजुलीलाई वैदेशिक रोजगार विभागले आवश्यक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय झापामार्फत् विभागमा उपस्थित गराउन पत्राचार गरेको घटनालाई अपराधी करार गर्दै सेवाबाटै बर्खास्तको सूचना प्रकाशन गरी सार्वजनिक सञ्चार माध्यमबाट प्रवाह गर्नु हिमशिखर टेलिभिजनको अक्षम्य गल्ती भएको संगठनले ठहर गरेको छ ।
विज्ञप्तीमा ‘कसुर नै प्रमाणित नभई बिर्तामोडबाट प्रकाशन हुने पूर्वाञ्चल दैनिकले पनि पत्रकार पराजुलीको फोटोसहितको समाचार प्रकाशन गरेको छ । कसुर प्रमाणित नभई समाचार प्रकाशन गर्ने पूर्वाञ्चल दैनिकले पत्रकार आचारसंहिताको समेत न्यूनतम पालना नगरेको हुँदा प्रेस काउन्सिल नेपाल समक्ष उक्त पत्रिका र सम्पादकलाई कारवाहीका लागि प्रेस चौतारी झापा जोडदार माग गर्दछ’ भनिएको छ ।
पत्रकारहरुको पेशागत सुरक्षाका लागि स्थापना भएको छाता संस्था भएर पनि नेपाल पत्रकार महासंघ झापाले पत्रकारलाई अप्ठ्यारो हुँदा आवश्यक सहयोग गनुपर्नेमा राजनीतिक पूर्वाग्रह राखेर निलम्बनका लागि गरेको सिफारिस तत्काल फिर्ता लिन विज्ञप्ति मार्फत आग्रह गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘निलम्बनका लागि गरेको सिफारिस फिर्ता नलिए पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी झापा सशक्त आन्दोलनका कार्यक्रम अघि सार्न बाध्य हुने अवगत समेत गराउँदछौं ।’
Comments