Sajhamanch Archive

झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु, महिला भलिबल र खोखोका खेलाडी छनोट

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा आज शनिबारदेखि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता औपचारिक रुपमा सुरु गरिएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा औपचारिक रुपमा प्रतियोगिता सुरु भएको हो । समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)–को अध्यक्षतामा आयोजित एक समारोहका बीच प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले पानसमा दीप प्रज्ववन गरेर प्रतियोगिता उद्घाटन गरे ।

समितिका उपाध्यक्ष गंगा कोइराला भुर्तेलले स्वागत र सचिवालय सदस्य एवम् प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वाग्लेले अन्तर्राष्ट्रिय जगतमा देशको नाम स्थापित गर्नसक्ने खेलकुद क्षेत्रलाई कुनै पनि सरकारले प्रथमिकतामा नराख्नु दुःखद भएको बताए । खेलकुद क्षेत्रमा सरकारहरुले गरेको लगानी अत्यन्त न्यून रहने गरेको बताउँदै वाग्लेले नेपाली खेलकुद खेलाडी र खेलप्रेमीहरुको बलमा मात्र टिकेको जिकिर गरे ।

‘भोको पेट र आवश्यक सामग्रीको अभावमा एउटा खेलाडीले कतिसम्म खेल्न सक्छ र ?’ उनले राज्यलाई प्रश्न गर्दै भने– ‘खेलाडीका लागि लगानी नै गर्न नसक्ने राज्यले पनि खेलाडीबाट किन आशा राख्नु ?’

वाग्लेले आफू पदमा रहुञ्जेल प्रदेशको खेलकुद विकासका लागि लगानी बढाउँदै नतिजा हासिल हुने गरी खेलकुदका गतिविधिलाई तीव्रता दिन प्रयत्नशील रहने प्रतिबद्धता जनाए । उनले झापाको खेलकुद विकासका लागि बोर्डले सम्बोधन गर्ने विश्वास दिलाए ।

समारोहका विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकालले पनि खेलकुद क्षेत्रमा राज्यले अपेक्षाकृत लगानी र खेलकुदका गतिविधि सञ्चालन गर्न नसकेको बताए । उनले राज्यले निजी क्षेत्रलाई पनि साथ लिएर खेलकुदको विकासमा फड्को मार्नुपर्ने र सहयोगका लागि निजी क्षेत्र सधैं तत्पर रहेको बताए ।

समितिका अध्यक्ष भण्डारीले कुशल खेलाडी उत्पादन गर्न छनोट प्रक्रियालाई पनि प्रतियोगितात्मक बनाइएको जानकारी दिए । उनले प्रतियोगिता सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा सुनाए ।

प्रमुख अतिथि वाग्लेले रंगशालामै भइरहेको खोखो र आर्चरी तथा बाहुनडाँगीमा भएको पुरुषतर्फको भलिबलको अवलोकन गरेका थिए । पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरु सुरु भएका छन् भने जुडो–उसुका प्रदर्शनीहरु भएको समितिका सदस्य एवम् प्रवक्ता दुर्वासा कार्की ‘जगन’ले जानकारी दिए ।

झण्डै ९०० खेलाडी सहभागी हुने बताइएको जिल्लास्तरीय सो प्रतियोगिताको पहिलो दिनकोे खेलबाट खोखोको महिला÷पुरुष र महिला भलिबलका खेलाडीहरु छनोट भएको प्रवक्ता कार्कीले बताए । हक्कीका पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलो पटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ ।

प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारोत्तोलन, टेबल–टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खोखो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेल समावेश गरिएको छ । आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरु हुने कार्यालय प्रमुख शिवुकुमार नेम्बाङले जानकारी दिए ।

यसैबीच झापा जिल्ला खेलकुद विकास समतिमा सदस्यका रुपमा सन्तोषकुमार थेगिमलाई स्वाग्त–सम्मानसहित सपथ गराइएको छ । योसँगै समितिले पूर्णता पाएको उपाध्यक्ष भुर्तेलले जानकारी दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *