Sajhamanch Archive

कांग्रेस नेता गिरीको ७४ वर्षमा निधन, कसले कसरी उनलाई सम्झिएका छन् ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको ७४ वर्षको उमेरमा शनिबार साँझ ९ः३० बजे निधन भएको छ। उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ।

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेताहरु‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले गिरीको निधनले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्। राष्ट्रपतिको ट्वीटरमा “समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु” भनिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीको निधनले मर्माहत भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु। उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व तथा समाजवादी चिन्तक गिरीको नेपाली राजनीतिमा सधैं अभाव हुने बताएका छन्। “नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ” दाहालले सामाजिक सञ्जालमा लेखेका छन्‚ “गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु।”

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेता गिरीको निधनले नयाँ समाजवादी धारको विकास लागेकाहरूलाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन्। उनले ट्वीट गरेका छन्‚ “प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरीको निधनमा निःशब्द छु। २०३४ सालदेखि ४५ वर्ष निरन्तर उहाँसँगको गहन वौद्धिक विमर्शले मलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको थियो। नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठूलो क्षति पुगेको छ, हार्दिक श्रद्धान्जलीरसमवेदना !”

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गिरीको अभाव सधै खट्किरहने उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्‚ “अलबिदा प्रदीप गिरी दाइ, तपाईँको अभाव सधै खट्किरहने छ !”

पूर्व कानून मन्त्री नीलाम्बर आचार्यले गिरीको निधनले नेपाल दुःखित भएको ट्वीट गरेका छन् । लेखेका छन्‚ “धेरै दुःखित छु। सुविख्यात प्रजातन्त्रवादी चिन्तक एवं राजनीतिज्ञ प्रदीप गिरीको निधनले नेपाल दुःखित छ। मित्र प्रदीपजीमा हार्दिक श्रद्धाञ्जली !”

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिका वौद्धिक व्यक्तित्वको निधनले स्तब्ध तुल्याएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “हार्दिक श्रद्धाञ्जली ! नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व आदरणीय नेता प्रदिप गिरीको दुस्खद निधनले स्तब्ध तुल्याएको छ। श्रदेय नेता प्रदिप गिरीप्रति हार्दिक श्रद्धाञ्जली ! शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।”

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरीको निधनसँगै एउटा विश्वविद्यालय सदाका लागि बन्द भएको बताएका छन्। उनले ट्वीटरमा लेखका छन्‚ “एउटा विश्वविद्यालय‚ जो आजबाट सदाका लागि बन्द भयो ! निस्काम कर्मयोगी हाम्रा महान् गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली !”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा सदा सम्झना भइरहने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “नेपाली कांग्रेसका नेता, चिन्तक, प्रखर वक्ता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको देहावसानको समाचारले स्तब्ध र दुःखी छु। नेपाली राजनीतिमा एक राम्रो मानिसका रूपमा दिवंगत गिरीको सदा सम्झना भइरहनेछ।”

राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्‚ “हार्दिक श्रद्धाञ्जली ! एक असल नेताको रुपमा स्व. प्रदीप गिरीको सम्झना सदैव भैरहने छ। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।”

पत्रकार कनकमणि दीक्षितले गिरीबारे लेखिएको लेख शेयर गर्दै लेखेका छन्‚ “‘संघर्ष प्रदीप गिरीको स्थायी साथी जस्तो देखिन्छ। उहाँसँग ‘मृत्यु चिन्तन’ विषयमा छलफल गर्ने मन छ।’ हिजो मात्रै रघु पन्तले स्व. प्रदीप गिरीजीबारे सम्झेको बुझेको कुरा लेख्नु भएको थियो। श्रद्धाञ्जली।”

पत्रकार किशोर नेपालले गिरीले आफ्नो अन्तिम संस्कार सिरहाको बस्तीपुरमा होस् भन्ने इच्छा गरेकाले त्यो इच्छा पूरा गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ “प्रदीपदाइ चाहनु हुन्थ्यो उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा, बस्तीपुर, सिराहास्थित आश्रमको शान्त परिवेशमा होस। उहाँको यो इच्छाको कदरगर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु।”

हिमालखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *