Sajhamanch Archive

भट्टराई छोरीबुहारी महिला संजालको तीज मिलन, कनकाईमा नगर समिति गठन

Published: in विविधा, समाज by .

कनकाई । भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्ला छोरी बुहारी महिला सञ्जालको आयोजना तथा कनकाई नगर शाखाको संयोजनमा शनिबार जिल्लास्तरीय तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ।

भट्टराई कुलवंश प्रतिष्ठानका शाखा गठन भएका पालिकाहरु अर्जुनधारा, मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, कनकाई, शिवसताक्षी र दमक नगरपालिकाबाट सो कार्यक्रममा ३५० भन्दा बढी छोरी बुहारीहरुको उपस्थिती थियो।

कनकाई नगरपालिका अन्तर्गतको धनुषकोटी धाम परिसरमा आयोजित तीज मिलन कार्यक्रमको अध्यक्षता छोरी बुहारी महिला सञ्जाल झापाका संयोजक शकुन्तला भट्टराईले गरेकी थिइन् । उक्त कार्यक्रम भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय महिला माहाशाखा प्रमुख भीष्मा भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि भट्टराइले छोरी बुहारीहरु अब घरमा मात्र सीमित हुने दिन गएको बताउँदै आफ्नो क्षेत्रमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । घरको दैनिक काम काज भ्याएर पनि सामाजिक तथा समूहगत रुपमा गरिने कार्यक्रमहरुमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् ।

कार्यक्रममा दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले छोरी मानिसले विवाह गरेर जाँदैमा आफ्नो वंश परम्परा रीतिथिति बिर्सन नहुने बताइन् । विवाह पश्चात पनि अध्ययन अध्यापनलाई जारी राख्नुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठान झापा जिल्लाका अध्यक्ष धर्मेन्द्र भट्टराईले अब जिल्लाभर १५ वटै पालिकामा महिला सञ्जालमा गठन गरी भट्टराई वंशका छोरी बुहारी हरूको उत्थान र विकासमा सहयोग पुर्याउने बताए ।

तीज मिलन कार्यक्रममा विभिन्न गीत संगीतहरुमा नृत्य प्रस्तुत गर्नुका साथै गायन प्रतियोगिता, नृत्य प्रतियोगिता र क्यारीकेचर समेत प्रस्तुत गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट हुने हरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

सोही अवसरमा कुलवंश प्रतिष्ठान कनकाई नगर समिति छोरी बुहारी महिला सञ्जालसमेत गठन गरिएको छ। समितिको अध्यक्षमा लीला भट्टराई, उपाध्यक्ष निरु भट्टराई, सचिव अम्बिका भट्टराई, कोषाध्यक्ष उर्मिला भट्टराई र सदस्यहरुमा बिनिता भट्टराई, उषा भट्टराई, पार्वती भट्टराई, बिमला भट्टराई, राधिका भट्टराई, सुमित्रा भट्टराई, इन्दु भट्टराई, शुष्मा भट्टराई, सुमित्रा भट्टराई, कौशिला भट्टराई, डम्बरकुमारी भट्टराई, टीका भट्टराई, तुलसा भट्टराई र अम्बिका भट्टराई रहेका छन्।

नवनिर्वाचित समितिलाई महिला सञ्जालकी जिल्ला संयोजक शकुन्तला भट्टराईले अविर लगाई बधाई ज्ञापन गरेकी थिइन् । भट्टराइको वंश प्रतिष्ठान जिल्ला समितिका सचिवालय सदस्य केशव भट्टराईले संचालन गरेको कार्यक्रममा कन्काई नगर समितिका अध्यक्ष रघुनाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *