उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राख्ने आयोगको निश्कर्ष
Published:
by .काठमाडौँ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो ।
त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो र भद्दा भएको र बदरको संख्या पनि बढाएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने प्रत्यक्षतर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिए ।
आयोगले आउँदो निर्वाचनका लागि संघीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ । मतदान केन्द्रमा चार वटा अलग अलग मतपत्र, मतसंकेत गर्ने स्थान र मतपेटिकाको व्यवस्था गरिने आयोगको तयारी छ ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिक तर्फ मताधिकारका लागि आयोगले तयारी गरेको जनाएको छ ।
Comments