नवौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना
Published:
by .पोखरा । राष्ट्रिय खेलकुद परिषद् राखेपले असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समितिको सचिवालय पोखरा रंगशालामा स्थापना गरेको छ । रंगशालामा रहेको बहुउद्देश्यीय कभर्ड हलमा स्थापित सचिवालयको आइतबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे ।
सचिवालयको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको समयमै सञ्चालन हुनेमा कुनै सन्देह नगर्न आग्रह गरे । सरकारले पहिलो चरणमा भदौ १ मा प्रतियोगिताका लागि १० करोड रुपैयाँ विनियोजन गरेको र सम्पूर्ण तयारी अघि बढिसकेकोले उनले जनाए ।
‘खेलकुदको सबैभन्दा ठूलो महोत्सव गण्डकी प्रदेश र यहाँको राजधानी पोखरामा हुँदै छ’ उनले भने, ‘खेल पर्यटनको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ राष्ट्रिय खेलकुदलाई सफल बनाउन तीन तहकै सरकारको सामूहिक प्रतिबद्धताको आवश्यकता उनले औंल्याए । खेलकुदलाई असर नपर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका बनाउने प्रतिबद्धता जनाएको जानकारी उनले दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारको सम्पूर्ण सहयोग रहने बताए । ‘खेलकुदको महाकुम्भ गण्डकी प्रदेशको राजधानीमा हुनु हाम्रो लागि गौरवको विषय हो’ उनले भने, ‘स्वभाविक रुपमा जिम्मेवारी थपिएको छ । सचिवालयसँगको सहकार्यमा तदारुकताका साथ लाग्छौं ।’
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी बनाउन राष्ट्रिय खेलकुदले थप टेवा पुग्ने बताए । उनले प्रतियोगितालाई व्यवस्थितगर्न अत्यन्त जिम्मेवार भएर सबै हिसाबले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुदको मुख्यस्थल पोखरा रंगशालामा पूर्वाधारतर्फका ९९ प्रतिशत काम सकिएको बताए । प्रतियोगितामा हुने ३६ खेलको खेलस्थल टुंगो लगाउने अन्तिम अवस्थामा रहेको जानकारी उनले दिए । ‘अब बढी समय पोखरामै रहेर राष्ट्रिय खेलकुदको तयारीका काम हुनेछन्’ उनले भने ।
नवौं राष्ट्रिय खेलकुदमा ३६ प्रतियोगिता र २ प्रदर्शनी खेल समावेश छन् । छेलो (ठेलो) र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ ।नवौं राष्ट्रिय खेलकुदमा करिब ७ हजार १९० खेलाडी, १ हजार २०० प्रशिक्षक र एक हजारजना रेफ्री गरी झण्डै १० हजार जना सहभागी हुनेछन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक गैर आवसीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
Comments