Sajhamanch Archive

गाडीमा ढुंगा हान्ने बन्दकर्ता कुटिए, काभ्रेमा ८ र दाङमा ८ जना बन्दकर्तालाई प्रहरीले लियो नियन्त्रणमा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने एक जनालाई स्थानीय चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् । कुटाइ खानेमा जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।

त्यही बेला उनले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले उनीहरुबाट छुटाएर राउतलाई आफ्नो नियन्त्रणमा लिएको थियो । जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।

यसैगरी, दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली र अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताए ।

त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वली र प्रकाश बुढामगर पक्राउ परेका प्रहरीले जनाएको छ ।

बन्दकर्ताले गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाबी खोस्ने, धम्काउने जस्ता कार्य गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विप्लव नेतृत्वको नेकपासहित ४ वटा कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव दाङमा देखिएको छ । बिहानैदेखि बजार पूर्णरुपमा खुलेको छैन भने सवारी साधन पनि चल्न सकेको छैन ।
यसैबीच, बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ ।

सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *