तीज मनाउने नयाँ अभ्यासः माला र सजावटका सामग्री बनाउने निःशुल्क तालिम दिँदै दर खुवाएर नृत्य प्रतियोगिता
Published:
by .विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ संस्कृति संरक्षणसँगै रचनात्मक काममा अग्रसर बनेको छ । महासंघले हिन्दू महिलाहरुले मनाउने सांस्कृतिक पर्व तीजको अवसरमा शुभकामना आदानप्रदान, नृत्य प्रतियोगितासँगै महिलाहरुलाई माला र सजावटका सामग्री बनाउने तालिम प्रदान गरेको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, महिला उद्यम समितिले तीजको अवसर पारेर आज बिहीबार बिराटनगरमा महिलाहरुलाई माला र सजावटका सामग्री बनाउने तालिम दिएको हो । महिलालाई आर्थिकरुपमा सबल र उद्यमी बनाउन फेब्रिकबाट माला र सजावटका सामग्री बनाउने एक दिने तालिम प्रदान गरिएको महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिएका हुन् ।
महासंघले प्रत्येक वर्ष तीज पर्वको अवसरमा यस्तै रचनात्मक कार्य गर्दै आएको छ । यो वर्ष महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष निरौलाले बताए । तालिममा मोरङका सबै स्थानीय तहबाट ६५ जना महिलाहरुको सहभागिता रहेको उनले बताए । सो तालिममा अपाङ्गता भएका परिवारका १५ जना महिला सदस्यहरुको समेत सहभागिता थियो ।
उक्त कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरेर तीज पर्व मनाइएको छ । तीज पर्वको अवसरमा महासंघमा आवद्ध उद्यमी महिलाहरुबीच शुभकामना आदान प्रदानका साथै नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएको महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले जानकारी दिइन् ।
सो अवसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा उषा भट्टराई प्रथम, संस्कृति थापा द्वितीय र प्रस्तुति खतिवडा तृतीय भएका थिए । प्रतियोगितामा उत्कृष्ट तीन जना र माला बनाउने तालिममा उत्कृष्ट सयपत्री महिला समूहलाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।
प्रतियोगितामा २१ जना महिलाहरुले सहभागिता जनाएका थिए । सो अवसरमा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा कार्की, महासंघ प्रदेश १ का अध्यक्ष अञ्जु उपाध्याय, उपाध्यक्ष लिलादेवी रिजाल, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय (शिवा), सुनसरी अध्यक्ष रविन गौतमलगायत विभिन्न संघ संगठनका प्रतिनिधिलगायत विभिन्न पालिकाबाट सयौँ उद्यमी महिलाहरुको उपस्थिति थियो ।
Comments