एनएमसीमा दिनहुँ सदस्य शिक्षा कार्यक्रममा
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने क्रममा आज शुक्रबार बिर्तामोड, सैनिकबजार, बौद्धमोड लगायत सेवाकेन्द्रमा कार्यक्रम सम्पन्न गरेको छ ।
अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई बचत फिर्ता दिनसमेत नसकेकोले सहकारी अभियानकै बद्नाम हुँदै गएको परिप्रेक्ष्यमा संघीय सहकारी विभागले प्रारम्भिक संस्थाहरुलाई सदस्य शिक्षा मार्फत् आफ्नो वित्तीय अवस्था दर्शाउन दिएको सुझावलाई एनएमसीले कार्यान्वयन गरेको हो ।
भदौ ५ गतेदेखि सदस्य–गैह्र सदस्यमाझ सदस्य शिक्षाका रुपमा एनएमसीका २३५ वटै एकाईमा सदस्य शिक्षा तालिम थालिएको छ । एनएमसीका ५८ वटा वित्तीय सेवा केन्द्र अन्तरगतका सबै सेयर सदस्यहरुलाई भदौ महिनाभरमा एनएमसीको वित्तीय अवस्थिति जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ ।
सोही सन्दर्भमा आज भदौ १० गते एनएमसी सैनिकबजार सेवा केन्द्र अन्तरगतको एक एकाईमा सदस्य शिक्षा कार्यक्रम गरिएको छ । सैनिकबजार पश्चिम पत्थरभिट्टा क्षेत्र र सोभन्दा उत्तरतर्फका बासिन्दालाई लक्षित गरेर शिवाकोटी कालीनाग मन्दिरको सभाहलमा सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
१३० जना हाराहारी सहभागी उक्त कार्यक्रममा संस्थाको संशोधित र परिमार्जित नीतिहरु, वर्तमानका चुनौति, सम्भावना र अवसरहरुका बारेमा एनएमसी बिर्तामोड सेवाकेन्द्र उपसमितिका संयोजक गोपाल काफ्लेले सहजीकरण गरेका थिए । मुख्य सहजकर्ताका रुपमा काफ्लेले एनएमसी अरु सहकारी संस्थाभन्दा कसरी फरक छ, यसको वित्तीय अवस्था कस्तो छ, सदस्यहरुले बचत रकम मागेका दिन फिर्ता पाउन सक्छन् कि सक्दैनन् जस्ता विषयहरुमा केन्द्रित रहेर छलफल गरेका थिए ।
यस्तै सैनिकबजार सेवा केन्द्र प्रमुख सन्तोष ढुंगानाले संस्थाको वर्तमान वित्तीय अवस्थित एवम् बचत तर्फका नयाँ योजनाहरुका बारेमा प्रकाश पारेका थिए । सेवा केन्द्र प्रमुख ढुंगानाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा एनएमसीका सेयर सदस्य, बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दूर्योधन गरुङले सदस्य शिक्षा तालिमबारे प्रतिक्रिया दिँदै एनएमसी आफैंमा भरिपूर्ण रहेको बताए । सदस्य शिक्षा कार्यक्रममा सहभागीहरुलाई ढाडस दिँदै वडाध्यक्ष गुरुङले ‘कता कता सहकारीहरु भागेको समाचार पनि आउँछन् तर तपाइँहरु ढुक्क हुनुहोस् एनएमसीबाट यस्तो गल्ती हुँदैन, डराउनु पर्दैन ।’
कार्यक्रमका सहभागीहरु तुलसीप्रसाद सुवेदी, गंगादेवी ओलीले संस्थाको बारेमा मसिनो गरी बुझाएर एनएमसीले सदस्यहरुको मन जितिरहेको प्रतिक्रिया दिएका थिए । सदस्य शिक्षा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सेवा केन्द्र उपसमिति सदस्य टिकाराम दंगालले आफू एनएमसीमा आवद्ध भएदेखि उपभोग गरेका सेवाहरुबारे जानकारी दिँदै शाब्दिक स्वागत गरेका थिए भने सेवा केन्द्र उपसमिति संयोजक मनु मुखियाले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
Comments