प्रदेशसभा सदस्य हिरा थापाले गरे संघीय संसदमा दावी
Published:
by .कनकाई । झापा क्षेत्र नं.४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित हिराकुमार थापाले संघीय सांसद भएर जनताको सेवा गर्ने उर्जा पलाएको बताएका छन् । प्रदेश १ को प्रदेशसभा सदस्य भएर भूमिसुधार तथा कृषि मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्ने अवसर प्राप्त गरेका थापाले आफ्नो अबको लक्ष्य झापा क्षेत्र नं. ४ बाट संघीय सांसद बन्ने रहेको घोषणा गरेका हुन् ।
प्रदेशसभा सदस्य थापाले प्रदेशसभा सदस्य रहेर ५ वर्षमा आफूमार्फत् भए गरेका विकास निर्माणका कार्यको सार्वजनिक गर्दै मंगलबार सुरुङ्गामा पत्रकार सम्मेलन गरी आसन्न निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने आकांक्ष ब्यक्त गरेका हुन् ।
पार्टीको निर्णयलाई आत्मसाथ गर्दै आगामी मंसीरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं.४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिने उद्घोष गरेका थापाले हालसम्म आफूले प्राप्त गरेको अनुभवका आधारमा अब संघीय सांसद आफ्नो लक्ष्य भएको सुनाए ।
प्रदेशसभा सदस्य थापाले दोहोर्याएर अब प्रदेशमा नजाने बताउँदै भने, ‘अवसर नपाउने साथीहरुका लागि ठाउँ खाली गरिदिएको छु ।’ उनले भने, ‘यसैगरी मलाई पनि संघीय सांसदको ठाउँ खाली गरिदिनु पर्छ ।’
प्रदेश १ को नामाकरण हुन नसकेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रदेशसभा सदस्य थापाले नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुमा एकमत नभएका कारण नामाकरण हुन नसकेको जिकिर गरे ।
पत्रकार भेटघाटका क्रममा सांसद थापाले आर्थिक वर्ष २०७४/०७५ देखि २०७९/०८० सम्मका विकास निर्माणका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् ।
Comments