डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम
Published:
by .बिर्तामोड । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र बिस्तार गरेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारणसभा अन्तरगत आज बुधबार बिर्तामोड र गौरादहमा एकाई साधारणसभा सम्पन्न गरेको छ ।
भदौ ११ गते विशेष कार्यक्रमको आयोजना गरी साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको संस्थाले विभिन्न सेवा केन्द्रका एकल तथा संयुक्त साधारणसभा गरिरहेको हो ।
साधारणसभाको कार्यतालिका बमोजिम संस्थाको सुरुङ्गा र बिर्तामोड सेवा केन्द्रको संयुक्त एकाई साधारणसभा अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आज बिर्तामोडमा सम्पन्न गरिएको हो । उक्त साधारणसभामा अध्यक्ष न्यौपानेले सहकारी अभियानको समसामयिक परिवेशमाथि चर्चा गर्दै सदस्यहरुलाई डाँफे साकोसको सबल पक्षहरुबारे अवगत गराएका थिए ।
आफ्नो संस्था सहकारी ऐन, नियमावली, संस्थाको विनियम एवम् कार्यसञ्चालन नीतिहरुबाट निर्देशित भएर सञ्चालन गरिने जनाउँदै अध्यक्ष न्यौपानेले सबै सदस्यहरुलाई संस्थाले प्रदान गरेको सेवाका बारेमा सुविधा नभएमा जानकारी गराउन सुझाएका छन् ।
‘संस्था तपाईहरुको हो, हामी सञ्चालक र कर्मचारीहरु शेयरधनीले दिएको जिम्मेवारी पूरा गर्ने पात्र मात्र हौं’ संस्थाका अध्यक्ष न्यौपानेले भने, ‘यसैले संस्थाको कारोबार र सेवालाई तपाई शेयरधनीले नियमित निगरानी गर्नुपर्छ ।’
संस्थाका सचिव लीलानाथ खनालले सञ्चालन गरेको एकाई साधारणसभामा उपस्थित सदस्य तथा अतिथिहरुलाई बिर्तामोड सेवा केन्द्रका संयोजक देवीप्रसाद भट्टराईले शाब्दिक स्वागत गरेका थिए । डाँफे साकोसको अन्तिम माइन्युट प्रमाणित साधारणसभा यही भदौ २० गते दमकमा गरिने कार्यतालिका छ ।
Comments