संजीवनीको साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः चुँडाल
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडमा रहेकोे संजीवनी बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र संस्थाका अध्यक्ष यामकुमार चुँडालले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गरेर गरेका थिए ।
मन मिल्ने ४० जना स्थानीय युवाको सक्रियतामा २०६४ सालमा स्थापना भएको संस्थामा हाल झापाका दुई हजारभन्दा बढी शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष चुँडालले साधारणसभामा प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार अर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तमा शेयर पूँजी अघिल्लो वर्षको तुलनामा २२ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्षमा संस्थाले १ करोड ५० लाख रुपैयाँ शेयर पूँजी निर्माण गर्ने लक्ष्य लिएको भए पनि यथार्थमा १ करोड ४८ लाख रुपैयाँको पूँजी निर्माण गरेको प्रतिवेदनमा उल्लेख छ ।
चालू वर्षका लागि १ करोड ८५ लाख ३५ हजार रुपैयाँ पुर्याउने संस्थाको लक्ष्य छ ।
यसैगरी निक्षेपमा १८ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ भने ऋण लगानीमा २९ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ ।
संस्थाको जगेडा कोषमा पनि ७ दशमलव ९२ प्रतिशत वृद्धि भएको उल्लेख छ भने बाह्य लगानीमा ८५ दशमलव ४० प्रतिशतले वृद्धि भएको प्रगति विवरण अध्यक्ष चुँडालले साधारणसभामा पेश गरेका छन् ।
साधारणसभाको उद्घाटनको अवसरमा संस्थाले ७ जना असल बचतकर्ता र ७ जना असल ऋणीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
यस्तै २ जना विद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
नयाँ नेतृत्व चयनः
वार्षिक साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि पुनः यामकुमार चुँडाल अध्यक्ष रहेको सञ्चालक समिति गठन गरेको छ ।
संस्थाको उपाध्यक्षमा दिनेश सुवेदी निर्वाचित भएका छन् भने सचिवमा मेघराज बाँस्तोला र कोषाध्यक्षमा शिवबहादुर कटुवाललाई निरन्तरता दिइएको छ ।
सञ्चालक समितिका सदस्यहरुमा चक्रप्रसाद खरेल, सितादेवी कार्कीले निरन्तरता पाएका छन् भने अनिता गौतम र तारादेवी अर्याललाई नयाँ जिम्मेवारी दिइएको छ ।
लेखा समितिको संयोजकमा कमला शिवाकोटी चयन भएकी छन् भने सदस्यहरुमा धनपति मैनालीलाई निरन्तरता दिँदै भीमबहादुर कुँवरलाई नयाँ जिम्मेवारी दिइएको छ ।
बिर्तामोड नगरपालिकाका सहकारी अधिकारी डिल्ली दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
Comments