Sajhamanch Archive

केन्यालाई १७ रनले हराउँदै नेपालले जित्यो ‘वान डे’ श्रृंखला

Published: in खेलकुद, मुख्य समाचार, विश्व समाचार by .

काठमाडौँ । केन्यालाई १७ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २३१ रनको लक्ष्य पछ्याएको केन्याले २१३ रन मात्रै बनाउन सक्यो ।

केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २३० रन बनाएको थियो ।

प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो । केन्याका लागि रकेप पटेलले ८२ रन बनाए । १ छक्का र ७ चौका प्रहार गरेका रकेपलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए । केन्याविरुद्ध राम्रो ब्याटिङ गर्न नसकेका दीपेन्द्रले ४ विकेट लिए । उनले ५ ओभर ३ बल बलिङ गर्दै १२ रन दिएका ४ विकेट लिएका थिए ।

रकेपले भने पाँचौं विकेटका लागि कोलिन ओबुयासँग ८२ रनको साझेदारी गर्दै खेल केन्याको पक्षमा पार्न प्रयास गरेका थिए । कोलिनले ३७ रन बनाए ।

नेपालका लागि जोखिम बन्ने अवस्थामा पुगेको उनीहरूको साझेदारीलाई पवन सर्राफले तोडेका थिए । रकेपले नेहेमिया अधिअम्बोसँग छैठौं विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । नेहेमियाले १३ रन बनाए ।

केन्याका लागि नेलसन अधिअम्बोले २८, इरफान करिमले ८ रन बनाएका थिए । २३१ रनको मध्यम लक्ष्य पछ्याएको केन्याको सुरुवात राम्रो हुन सकेन । दोस्रो इनिङको पहिलो बलमा ओपनर सुखदीप सिंहलाई सोमपाल कामीले बोल्ड गरेका थिए ।

पहिलो स्पेलमा कामीले ३ विकेट लिएपछि केन्याको सुरुवात राम्रो हुन सकेन । ८ ओभर नपुग्दै केन्याले ४ विकेट गुमाएर ३९ रन बनाएको थियो ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए । ९५ बल खेलेका पौडेलले ७ चौका प्रहार गरेका थिए । नेपालका लागि देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, मोहम्मद अदिल आलमले १४, करण केसीले ११ रन बनाएका थिए । ओपनिङ ब्याट्सम्यान अर्जुन साउद ५ रनमै आउट भएका थिए ।

श्रृंखलाको शुक्रबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो । अन्तिम खेल सोमबार हुनेछ ।

कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *