Sajhamanch Archive

‘वर्ष दिनमै गठबन्धनले देशलाई कंगाल बनायो’ : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

सुनसरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसीर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

मंसीर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ, बनाउनै पर्छ किनकि यो एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको छ । त्यसकारण मुलुकको समग्र विकासका लागि एमालेको जित आवश्यक छ’ अध्यक्ष ओलीको भनाई छ ।

आज शनिबार सुनसरीको दुहवीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रन तयार रहनुपर्ने बताएका थिए ।

यसअघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्रमा ‘प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर’ हार घोषणा गराइएको नेता ओलीको आरोप थियो ।

‘यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु– तपाईँहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईँहरुले राष्ट्रसेवकको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्छ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु’ अध्यक्ष ओलीले भने ।

नेकपा एमाले गँड्यौलाजस्तो नभएको तर दुईवटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने कार्यकर्तालाई ओलीको निर्देशन छ । आगामी चुनावपछि नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यकता रहेको पनि उनको जिकिर थियो । आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै ओलीले भने, ‘एमालेका नेता र कार्यकर्ता गँड्यौला जस्तो हुने होइन । दुईटा दाँत भएकोजस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नुपर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *