Sajhamanch Archive

तारापुञ्ज साकोस मेचीनगरको अग्रता चुलिँदै

Published: in सहकारी by .

मेचीनगर । साविक दुहागढी गाविसको चारआली बजारमा २०६४ सालमा स्थापना भएको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय आंकडालाई मजबुत बनाउँदै लगेको छ ।

आज आयोजित ११औं वार्षिक साधारणसभामा संस्था सञ्चालक समितिको तर्फबाट अध्यक्ष लेखनाथ पौडेल केशवले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा शेयर सदस्यको संख्या, निक्षेप संकलन एवम् कर्जा लगानीमा उल्लेख्य प्रगति गरेको उल्लेख छ ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्य तथा वडा नं. १३ का अध्यक्ष कृष्णराज सिग्देलको विशिष्ट आतिथ्यमा आज शनिबार ११औं वार्षिक साधारणसभा आयोजना गरिएको हो ।

नगर उपप्रमुख उप्रेती, वडाध्यक्ष सिग्देल, संस्थाका अध्यक्ष पौडेललगायतले दिप प्रज्वलन गरी उद्घाटन गरेको साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षसम्ममा संस्थामा ५३ लाख ५८ हजार रुपैयाँको शेयर पूँजी निर्माण गरिएको उल्लेख छ ।

समीक्षा अवधिमा संस्थाले १२ करोड ९३ लाख रुपैयाँभन्दा बढीको वित्तीय कारोबार गरेको थियो भने खुद मुनाफाबाट शेयर सदस्यहरुलाई १० प्रतिशत बोनस प्रदान गरिने प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणि २ जना, उत्कृष्ट उद्यमशील महिला १ जना, उत्कृष्ट बाल बचतकर्ता १ जना, उत्कृष्ट कर्मचारी १ जना र संस्थापक सदस्य एकजना गरी ८ जनालाई पुरस्कृत र सम्मानित गरिएको थियो ।

संस्थाका सचिव महेन्द्र विलाश लुइँटेलले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा सहभागी शेयरधनी तथा आमन्त्रितहरुलाई उपाध्यक्ष मुक्तिप्रसाद प्याकुरेलले शब्दद्वारा स्वागत गरेका थिए ।

साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अर्जुन खनालले प्रस्तुत गरेको प्रतिवेदनसहित सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ ।

साधारणसभामा गत आर्थिक वर्षमा सम्पन्न गरिएका ९ वटा रचनात्मक कार्यहरुबारे समीक्षा गरियो भने चालू आर्थिक वर्षका लागि सञ्चालक समितिले अघि सारेका १५ वटा प्रस्ताव कार्यान्वयनमा सबैको एकतावद्ध प्रयास रहने निश्कर्ष निकालिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *