Sajhamanch Archive

मेलमिलाप अभ्यासका चार वर्ष र आठ दिनका फरक अनुभव

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by .

२०७५ साल साउन २७ गते दिउँसोको १ बजेको हुँदो हो, मेचीनगर नगरपालिका वडा नं. ६ कार्यालयका तत्कालिन वडासचिव इन्दिरा खरेलले मोबाइलमा फोन गरेर भन्नुभयो “दाजु, तपाईं यस ठाउँमा चिनिनु भएको, सबैले माने गुनेको र वडाले पत्याएको ज्येष्ठ नागरिक हुनु भएकोले तपाइँको संयोजकत्वमा वडामा मेलमिलाप समिति गठन गर्नुपर्ने भयो । त्यही हाम्रो सल्लाह भयो ।”

मैले पनि व्यवहारबाट रिटायर्ड जीवनको सदुपयोग समाजसेवाका लागि गरौं भन्ने ठानेर हुन्छ भन्दिएँ । त्यसपछि वडा नं. ६ मा मेरो संयोजकत्वमा सदस्यहरु हरिप्रसाद पौडेल, विटु गुरुङ्ग रहेको मेलमिलाप समिति गठन भयो र त्यसै बेलादेखि वडामा मेलमिलाप कार्यमा निरन्तररुपमा सक्रिय भएर लागिरहेको छु ।

मेलमिलाप समितिको संयोजक बनेपछि नगरपालिकाको आयोजना वा संघ–संस्थाको आयोजनामा धेरैपटक सो विषयमा तालिम लिने अवसर पनि जुर्यो । कहिले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा, कहिले महेन्द्रद्वार सहकारी संस्थाको सभाहलमा, कहिले मेचीनगर नगरपालिका कार्यालयको सभाहलमा विभिन्न किसिमका मेलमिलापका अपूरा तालिमहरु लिएकै हो । सो अवधिमा आइलागेका विभिन्न प्रकारका विवादहरु पुरानै तरिकाबाट समाधान गरिरहेका थियौं । तापनि पूर्ण तालिमको अभावमा प्रक्रियागत रुपमा आधुनिक तरिकाबाट मेलमिलाप गराउने कार्य गर्न सकेका रहेनछौं ।

मेरो नेतृत्वमा रहेको मेलमिलाप समितिको दक्षता र क्षमता अनुसार परम्परागत तरिका, परम्परागत लिखतबाट नै ९५ प्रतिशत विवादमा दुवै पक्षबीच सहमति गराई खुसीसाथ मेलमिलाप गराएकै थियौं । मेलमिलाप समिति सदस्य हरिप्रसाद पौडेल र म मेलमिलाप गराएका विवादहरु स्थायीरुपमा समाधान भए/नभएका विषयमा छलफल गर्दै अब कसको विवाद पहिला हेर्ने भनेर वडा कार्यालय वडाध्यक्षकै कोठामा रजिष्टर र खाता पल्टाएर छलफल गरिरहेका थियौं । सोही समयमा दुईजना महिलाहरु वडाध्यक्षको कार्यकक्षमा प्रवेश गर्नुभयो । उहाँहरुले वडाध्यक्ष बारे सोधखोज गर्नुभयो, हामीले उहाँ खाना खान जानुभएको बतायौं ।

अपरिचित भएकाले मैले जिज्ञासा राखेँ, ‘यहाँहरुलाई त चिन्न सकिएन, हामीले गर्नसक्ने काम भए भन्नुहोस्, सहयोग गर्नेछौं ।’ दुईमध्ये एकजनाले भन्नुभयो “हामी वडाध्यक्षज्यूलाई भेट्न आएका हौं । मेरो नाम संगीता थापा हो । म प्राकृतिक स्रोत, द्वन्द रुपान्तरण केन्द्र नेपालमा काम गर्छु । र, हाम्रो संस्थाले वडास्तरमा गठन भएका मेलमिलाप समितिलाई तालिम दिन्छ ।”

मेलमिलाप समितिलाई तालिम दिन्छौं भनेकाले मैले हाम्रो मेलमिलाप समितिको फायल र रजिष्टर संगीता मेडमलाई देखाएँ । उहाँले हाम्रो फायल, रजिष्टर र खाता हेरिसकेपछि गम्भीर भएर भन्नुभयो “तपाईंहरुले राम्रोसँग काम गर्नुभएको रहेछ । मेहेनत गर्नु हुँदोरहेछ । तर तपाइँहरुले परम्परागत रुपमा कार्य गर्नुभएको रहेछ । म मेलमिलाप प्रक्रिया सहयोगी पुस्तक पठाउँछु । त्यस पुस्तकमा सबै कुराहरु उल्लेख भएको छ । त्यस अनुसार मेलमिलापको कार्य गर्दा राम्रो हुन्छ ।”

केही दिन पछि उहाँले हामीलाई पुस्तक उपलब्ध गराउनु भयो । मेलमिलापको लिखत नयाँ ढाँचाबाट गर्न थालियो । हाम्रो कामबाट उहाँ प्रभावित बन्नुभयो । मलाई कतै न कतै लगेर तालिममा सहभागी गराउने उहाँले बताउनु भयो । सोही आश्वासन कार्यान्वयन गर्दै २०७९ साल भदौ ३ गतेदेखि १० गतेसम्म ८ दिनको तालिममा मैले सहभागी हुने अवसर पाएँ ।

“दीगो शान्तिका लागि उन्नत सम्बन्ध” विषयक मेलमिलाप सम्बन्धी आधारभूत तालिममा झापाका विभिन्न पालिकाबाट २८ जनाको सहभागिता थियो । ‘प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल’द्वारा सञ्चालन गरिएको उक्त तालिममा मलगायत मेचीनगरबाट ४ जना, कनकाई नगरपालिकाबाट ११ जना, अर्जुनधारा नगरपालिकाबाट ११ जना, कमल गाउँपालिकाबाट १ जना र गौरादह नगरपालिकाबाट १ जना सहभागी थियौं ।

तालिम उद्घाटनका अवसरमा झापाका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीसहित पाँचै जना न्यायाधीशहरुको उपस्थितिले हामीलाई कार्यक्रमको महत्वबोध भयो । जिल्लाका सबै न्यायाधीशहरुको सहभागिताले आकर्षित, रोचक र रमाइलो बनायो । हामी सहभागीलाई नै प्रतिवेदन लेखन, मूल्याङ्कन, मनोरञ्जन व्यवस्थापक र सचेतकको जिम्मेवारी दिएर थप हौसला र प्रेरणा प्रदान गरिएको थियो । हाम्रो तालिमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी ‘प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र’का ग्रामीण श्रोत व्यक्ति संगीता थापा हुनुहुन्थ्यो । झापाकै चेली उहाँको हँसिलो मुहार, जतिसुकै तनाव भए पनि सजिलै व्यवस्थापन गर्नसक्ने, सजिलै समाधान गर्ने, अन्त्यन्तै क्षमता भएकी कुशल नेतृका रुपमा मैले उहाँलाई लिएको छु ।

हामीले आफ्नो ठाउँमा, आफ्नो वडामा मेलमिलाप गराउँदा आफ्नै तरिका, पुरानै ढाँचामा गर्दै आएकोमा सहजकर्ताहरुले यसलाई आधुनिक विधिबाट गर्ने तरिका सिकाउनु भयो । तालिमका संयोजक संगीता थापा, सामुदायिक मेलमिलाप कार्यक्रमका संयोजक चेतराज विष्ट, रामकुमारी तामाङ्ग र नारायणकुमार पौडेल आदि सहजकर्ताहरुले मेलमिलापकर्ताले समाजमा खेल्नुपर्ने भूमिका, गर्नुपर्ने काम, कर्तव्य, अधिकार सम्बन्धी तालिम प्रदान गर्नुभयो । तालिममा झापा जिल्ला न्यायाधीश डा. रमेश रिजालले अदालत सम्बन्धी प्रशिक्षण र अन्तरक्रियात्मक कार्यक्रम गर्नुभएको थियो । कार्यक्रमको अन्तिम दिनमा मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीले रोचक ढंगले प्रश्नोत्तर शैलीबाट प्रशिक्षण गर्नु भएको थियो ।

हामी तालिमका सहभागीहरुलाई एउटै जालोमा बाँधेर सदैव एक आपसमा सहकार्य गर्नुपर्ने, सहयोग आदान प्रदान गर्नुपर्ने र मित्रभाव बढाउँदै लैजान पर्ने कुराहरु सिक्दा सिक्दै आठ दिनको कार्यक्रम बितेको पत्तै भएन । मेलमिलाप सम्बन्धी यस्तो महत्वपूर्ण कार्यक्रममा हामीलाई सहभागी गराई तालिम प्रदान गर्नु भएकोमा संगीता थापा लगायत सम्पूर्ण आयोजक टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । मेरोजस्तै अनुभव अरु सहभागीहरुले पनि पक्कै संगाल्नु भएको हुनुपर्छ, जुन अविस्मरणीय एवम् व्यवहारिक शिक्षामुलक थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *