Sajhamanch Archive

अनेमसंघ झापाको नवौं जिल्ला सम्मेलनले यस्ता प्रस्तावहरु पारित गर्यो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको नवौं झापा जिल्ला सम्मेलनले १३ बुँदे विशेष प्रस्तावहरु पारित गरेको छ । नवनिर्वाचित अध्यक्ष पवित्रा पाठकसहितका नेतृहरुले आज जिल्ला पार्टी कार्यालयमा विशेष पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी गराएका हुन् ।

१५१ सदस्यीय जिल्ला कमिटी गठन गर्दा सम्भव भएसम्म सबै क्षेत्र, वर्ग र तप्काको उचित प्रतिनिधित्व गराइएको जनाउँदै अध्यक्ष पाठकले भनिन्, ‘सम्मेलनको उद्घाटन, बन्दसत्रमा छलफल पछि नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गरेपछि मातृपार्टीको मिटिङ, बैठकहरु चलिरहेकाले हाम्रो नेतृत्व चयनमा ढिलाई भएको हो ।’

स्मरण रहोस्, अखिल नेपाल महिला संघको नवौं झापा जिल्ला सम्मेलन गत भदौ ४ गते पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

अनेमसंघका नेतृहरुले १५१ सदस्यीय जिल्ला कमिटी गठन गर्न ८ वटा नगरपालिकाबाट ८/८ जना, ७ वटा गाउँपालिकाबाट ५/५ जना, ५ वटा संघीय निर्वाचन क्षेत्रबाट ५/५ जना, आदिवासी जनजातिबाट १० जना, दलितबाट ५ जना, युवाबाट ४ जना, मधेशीबाट २ जना र मुस्लिमबाट १ जनाको प्रतिनिधित्व गराएको जनाए । बाँकी संख्या मनोनयनबाट पूरा गरिने जनाइएको छ ।

उक्त सम्मेलनले निम्नानुसारका प्रस्तावहरु पास गरेको पत्रकारमाझ वितरित प्रेसनोटमा उल्लेख छ ।

पारित प्रस्तावहरु :

१. यो सम्मेलन महिला विरुद्धका सम्पूर्ण अपराधहरुलाई शून्य सहनशीलता कायम गर्दै न्याय स्थापित गर्न सरकारसँग जोडदार माग गर्दछ ।

२. आगामी मंसीर ४ गते हुन गइरहेको संघीय निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधि सभाबाट पार्टीको बहुमत प्राप्त गरी पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बहुमतसहित भावी प्रधानमन्त्रीको रुपमा लैजाने नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयलाई यो सम्मेलन स्वागत गर्दछ ।

३. जनसंख्याको आधारमा महिलाहरुको सम्पूर्ण अधिकार सुनिश्चित गरी कार्यान्वयन गर्न यो सम्मेलन जोडदार माग गर्दछ ।

४. यही मंसीर ४ गते हुन गइरहेको प्रदेश र संघीय निर्वाचनमा सिंगो जनसंख्याको आधारमा कम्तीमा ५० प्रतिशत महिलाहरुको उम्मेदवारीको सुनिश्चित गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउँदै प्रत्यक्ष र समानुपातिकमा ५० प्रतिशत उम्मेदवारी चयन गर्न जोडदार माग गर्दछ ।

५. परमादेशी वर्तमान सरकारले गठबन्धनको नाममा स्थानीय निर्वाचनमा संविधानको भावना र मर्म विपरीत प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष हुने अधिकारलाई हनन गर्दै महिला माथि गरिएको कुठाराघातको यो सम्मेलन घोर भत्र्सना र खेद प्रकट गर्दछ ।

६. देशमा विद्यमान आर्थिक संकटलाई अन्त्य गर्न विश्वव्यापी आर्थिक मन्दीलाई मध्यनजर गर्दै उपयुक्त कदम चाल्न यो सम्मेलन जोडदार माग गर्दछ ।

७. राष्ट्र हित विपरीत परमादेशी गठबन्धन सरकारले ल्याएको नागरिकता विधेयक महामहीम राष्ट्रपति ज्यूबाट पुनः विचार अध्ययनको लागि सदनमा फिर्ता पठाएकोमा स्वागत गर्दै पुनः विचार गर्न पठाइएको विधेयकमाथि छलफल तथा परिमार्जन नगरी हचुवाका भरमा संसदबाट पास गर्ने कार्यको यो सम्मेलन घोर भत्र्सना गर्दछ ।

८. छिमेकी मित्रराष्ट्र भारतको राष्ट्रपतिजस्तो गरिमामय पदमा पिछडिएको समुदायबाट उच्च सम्मान गर्दै निर्वाचित हुनु भएकोमा यो सम्मेलन महामहिम राष्ट्रपति द्रौपदी मुर्मुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

९. यो सम्मेलन आर्थिक समृद्धि र सामाजिक न्यायसहितको महिला मुक्ती आन्दोलनको उद्देश्य प्राप्तिका लागि टोलटोलमा संगठन, घरघरमा सदस्यता वितरणको अभियानलाई व्यवस्थित र सुदृढ गर्ने कार्यलाई निरन्तरता दिन प्रतिवद्धता जाहेर गर्दछ ।

१०. नेकपा (एमाले)का अध्यक्ष श्रद्धेय कमरेड केपी शर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा नेपालको पुरानो नक्सा लिपुलेक, लिम्पियाधुरा, कालापानी समावेश गरिएका नेपालको नक्सा दुवै सदनबाट सर्वसम्मत पारित भई नक्सा निर्माण भएको अवस्था हुँदा सो नक्सा बमोजिमको जमिन फिर्ता गराई देशका विभिन्न क्षेत्रका सिमाना मिच्ने कार्य भइरहेकोमा तत्काल देशको सिमाना सुरक्षाको प्रवद्र्धन गर्न र चुच्चे नक्सा कार्यान्वयन गर्न यो सम्मेलन सरकारसँग जोडदार माग गर्दछ ।

११. नेपालबाट भारतमा निकासी हुने नगदेबालीहरु चिया, सुपारी, अलैंची, कुचो लगायतमा भारत सरकारले आयात बन्द गरेर नेपाली मजदुर, किसान, श्रमिक वर्ग तथा व्यापारी वर्गमा दुःख हैरानी दिने र आर्थिक तथा रोजगारीको समस्या उत्पन्न गराएको तर्फ सरकारको ध्याकार्षण गराउँदै तत्काल समस्या समाधान गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१२. भारतसँग सिमाना जोडिएका झापाका विभिन्न पालिकाहरुमा भारतीय हात्तीको बढ्दो आतंक रोक्न, झापामा बढ्दो फोहोरमैला व्यवस्थापनको समस्याको उचित व्यवस्थापन गर्न, जलवायु परिवर्तनका कारण उत्पन्न विभिन्न प्राकृतिक विपतहरुको व्यवस्थापन गर्न, जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न सम्बन्धित सरोकारवाला निकाय मार्फत सरकारसँग जोडदार माग गर्दछ ।

१३. आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आम मतदाताहरुलाई निर्धक्कसँग मतदान गर्न आह्वान गर्दै धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकारसँग यो सम्मेलन जोडदार माग गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *