‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुँदै
Published:
by .झापा । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा आयोजना हुने भएको छ ।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको हो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए ।
नेपाल अमेरिका सम्बन्धको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा अवार्ड आयोजना हुने ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिएका छन् । अवार्ड कार्यक्रममा १३ र १४ तारिख नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले फिल्म फेस्टिवल हुने, १४ तारिखमा नै अमेरिकामा नेपाली चलचित्रको सम्भावनाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिने र १५ तारिखका दिन अवार्ड वितरण कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।
अवार्ड कार्यक्रममा नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली चलचित्रकर्मीलाई प्रोत्साहनसमेत गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।
अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रबर्धन गर्नु रहेको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ’ उनले भने ।
नेपाललाई विदेशी चलचित्रकर्मीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने गोल्डेन स्टेट मुभी मेकरका यज्ञलाल श्रेष्ठले बताएका छन् । सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी गराए।
अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुलाई समेत समावेश गराउने अर्का आयोजक ८८४८ मिडिया हाउस एलएलसीका अध्यक्ष तथा निर्देशक नारायण पुरीले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पुनःमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु अवार्डको उद्देश्य रहेको पुरीले जानकारी दिएका छन् ।
Comments